
पक्राउ परेका हिन्दू धर्मगुरु श्रीनिवास ५ सय रुपैयाँ जरिवाना तिरेर बिहीबार साँझ रिहा भएका छन् । स्थानीय साधुसन्तहरुको दबाबमा प्रहरीले उनलाई साँझ रिहा गरेको छ ।
सामाजिक सद्भाव खल्बलाउने उत्तेजक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका आचार्य श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालयले ५ सय जरिवाना गरी रिहा गर्न आदेश गरेपछि जिल्ला प्रहरीबाट उनी छुटेका छन् ।
सीआईबी र सुनसरी प्रहरीको संयुक्त टोलीले उनलाई मंगलबार साँझ सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीबाट पक्राउ गरेको थियो । बुधबार धनुषा ल्याइएका श्रीनिवासलाई थुनामुक्त गराउन स्थानीय सन्तमहन्तहरुले दिनभरि नै स्थानीय प्रशासनमाथि दबाब बनाएका थिए । जिल्ला प्रहरी कार्यालयले श्रीनिवास रिहा भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा उनले आफ्नो बयान आवेगमा आएको बताउँदै आफू हिंसा विरोधी रहेको प्रतिबद्धता जनाएका थिए ।
विश्वहिन्दू परिषद्को बैनरमा गौ हत्याविरुद्ध भएको प्रदर्शनमा भारी सहभागिता रहेको थियो । प्रदर्शनपछि आयोजित सभामा श्रीनिवासले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले सामाजिक सद् भाव खल्बलाउने भएकाले जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको बताइएको छ । उनले प्रहरी समक्ष दिएको बयानमा भने,‘ ’म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ ।’
जिल्ला प्रहरी कार्यालयबाट साँझ करिब साढे ५ बजे रिहा भएका श्रीनवास वैष्णव समाजलाई भेट्न बारहबिघा नजिक रहेको तुलसी स्मारकमा पुगेका थिए । रामानन्दीय वैष्णव समाजका अध्यक्ष समेत रहेका जानकी मन्दिरका उत्तराधिकारी महन्त रोशन दासले उनलाई स्वागत गरेका थिए । तुलसी स्मारक भित्र साधुहरुसित श्रीनिवास छलफलमा रहेका बेला ढोका बाहिर भारी संख्यामा प्रहरी तैनाथ थिए । अध्यक्ष रोशन दासका अनुसार श्रीनिवास राति नै सुनसरीका लागि प्रस्थान गरेका छन् । कडा सुरक्षाबीच उनलाई धनुषा जिल्ला कटाइएको छ ।