वीरगञ्जको छपकैयामा भएको हत्यामा संलग्न भएको एक युवकलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
शुक्रबार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार आयोजित पत्रकार सम्मेलनमा पुनमको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका २५ वर्षीय इमरान मियाँलाई सार्वजनिक गरिएको छ ।
गगनदेव साहकी श्रीमती ४० वर्षीया पुनमदेवी सर्राफ, शुक्रबार बिहान घरभित्र रक्ताम्य अवस्थामा अचेत फेला परेपछि उपचारको क्रममा उनको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । इमरानले पुनमदेवीको हत्या आफैंले गरेको बयान दिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए ।
पक्राउ परेका मियाँ लागू पदार्थ दुव्र्यसनी रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक शाहले बताए । शुक्रबार बिहान ३ बजेतिर चोरी गर्ने उदेश्यले घरको झयालबाट इमरान भित्र प्रवेश गरेको बेला पुनमदेवी कोठाभित्र सुतेको तर त्यसलगतै उठेपछि जम्काभेट भएपछि दुबैजनाबीच घम्साघम्सी भएको थियो । सोही क्रममा इमरानले फलामको रडले पुनमदेवीको टाउकोमा चार पटक प्रहार गरेपछि रक्ताम्य भएपछि इमरान भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिबार मृतक पुनमदेवीले ब्युटिपार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । तर हत्यामा उनको संलग्नता नदेखिए पछि उनलाई रिहा गरिएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । पक्राउ परेका इमरानलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।