अपडेट 
२०८० आश्विन २२, सोमबार ०८:११

शिक्षकहरुलाई सरुवा गरिएको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका छन ।

पर्साको विन्दवासिनी गाउँपालिकास्थित बहुअर्वा भाठामा रहेको राधा कृष्ण चौर सिया माध्यमिक विद्यालयको शिक्षकहरुलाई सरुवा गरेको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका छन् । राजनीतिक पूर्वाग्रहले शिक्षकहरुलाई सरुवा गरिएको भन्दै विवाद उत्पन्न भएको छ ।

गाउँपालिका कार्यालयले शिक्षकहरुको सरुवा गरेपछि त्यसको विरोधमा विद्यार्थीहरु आइतबार गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए । एकै पटक आधादर्जन भन्दा बढी शिक्षकहरुलाई गरिएको सरुवा फिर्ताको माग गर्दै विद्यार्थीहरुले गाउँपालिका घेराउ गरेका थिए । अवस्था अनियन्त्रित भएपछि प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरु घाइते भएको जनाइएको छ । गाउँपालिका घेराउ गर्न पुगेको बेला प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।

झडपमा कृष्ण मुखिया, विशाल यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादवलाई चोटपटक लागेको छ । घाइते भएका कक्षा ९ मा अध्ययनरत छात्र खेमबहादुर गोढले आफूहरु गुनासो लिएर गाँउपालिकामा आउँदा एक्कासी प्रहरीले लाठीचार्ज गरेर दमन गरेको बताए ।

शिक्षकद्वय विनोद राउत र धर्मेन्द्र चौबेको सरुवा पछि पठनपाठन प्रभावित भएकोले आफूहरुले सरुवा फिर्ताको माग राखेको गोढको भनाइ थियो । प्रधानाध्यापक नन्दु प्रसाद यादवले विद्यालयमा व्यापक अनियमितता गरेको भन्दै उनको सरुवा हुनुपर्ने माग आफूहरुको रहेको गोढले बताए ।

यस्तै प्रदर्शनमा सहभागी कक्षा ९ मै अध्ययनरत छात्रा नितु यादवले प्रहरीले गुण्डागर्दी शैलीमा विद्यार्थीहरुमाथि लाठी बर्साएको बताइन् । उनले विद्यालयमा आफूहरुको मागको सुनुवाइ नभएपछि गाउँपालिकामा आउँदा प्रहरीले कुटपिट गरेर घाइते बनाएको आरोप लगाइन् । घटनास्थलमा खटिएका ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले अवस्था अनियन्त्रित भएपछि नियन्त्रण गर्दा केही विद्यार्थीहरु घाइते भएको बताए ।

अवस्था नियन्त्रण भएपछि समस्या समाधानका लागि आन्दोलनरत विद्यार्थी र गाउँपालिकाका जनप्रतिनिधिबीच छलफलको प्रयास भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News