अपडेट 
२०८० आश्विन २२, सोमबार १७:४७

सरकारले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरेको छ भने द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउनका लागि तयारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । बैठकले परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने , इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

त्यस्तै बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा नेपालीहरुलाई सुरक्षित स्थानमा ल्याउनका लागि पहलकमदी भइरहेको जानकारी दिनुभयो । इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने उहाले बताउनुभयो ।

मन्त्रिपरिषद्ले इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निर्णय गरेको छ भने यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गरेको छ ।

 

Comment


Related News

Latest News

Trending News