अपडेट 
२०८० आश्विन २३, मंगलवार ०७:००

तरकारीको मूल्य आकासिएपछि उपभोक्ता बिलखबन्दमा परेका छन् । हरियो तरकारीको मूल्य आकासिए पनि बजार अनुगमन गर्ने निकाय भने बेखबर देखिएका छन् । कुनै वस्तुको मूल्यमा बढीमा २० प्रतिशतसम्म मुनाफा राखेर बेच्नु पर्ने कानुनी व्यवस्थालाई तरकारी बजारको क्षेत्रमा बेवास्ता गरिएको छ । थोक भाउमा खासै फरक नपरेपनि खुद्रामा भने मनपरी मूल्य बढेपछि उपभोक्ताहरु हरियो तरकारी खान नसक्ने गरी चर्को मूल्यको मारमा पर्न थालेका छन् ।

जनकपुरधामको पेठिया बजारमा भेटिएकी रेहना खातुनले बजारभरि घुमेर महँगो मूल्य तिर्दा समेत किन्न सकिने जस्तो राम्रो र ताजा तरकारी नपाएको गुनासो गरिन् । ‘तरकारीको मूल्य त कुरै नगरौं, पहिला किलो आउने पैसाले अहिले पाउ मात्र आउँछ । त्यो पनि पसलै पिच्छे फरकफरक मूल्य हुन्छ, उनी अगाडि भन्छिन,‘बजार अनुगमन गर्ने निकायले किन यो विषयमा वास्ता नगरेको होलान ? चाडपर्वको बेलामा पनि सरोकारवाला निकायलाई फुर्सद छैन ? हरियो तरकारीको थोक भाउमा खासै घटबढ नभए पनि खुद्रामा चाडपर्वलाई लक्षित गरी दोब्बरभन्दा बढी महँगिएको उपभोक्ता बताउँछन् । अनुगमन एवं नियमन गर्ने निकाय मौन भएका कारण खु् द्रा व्यापारीले तरकारीको भाउ मनलाग्दो तरिकाले बढी मूल्य राखेर बेच्ने गरेको कतिपय उपभोक्ताको तीव्र गुनासो छ । खुद्रा बजारमा तरकारीको मूल्य ५० देखि एकसय प्रतिशतसम्म बढेको उपभोक्ताहरु बताउँछन । तर थोक बजारमा भने खासै अन्तर देखिन्न ।

जनकपुर आलु प्याज व्यवसायी संघका अध्यक्ष अलाउद्दिन राइन भन्छन,‘ उपभोक्ता पनि महँगोमा परेका छन भने किसानले पनि लागत अनुसारको पैसा पाएका छैनन, सबै बिचोलियाले खाइरहेका छन् । तर सरकारलाई कुनै मतलब छैन ।’ तरकारी उत्पादनमा धनुषा, महोत्तरी जिल्ला पछि परेकोले व्यापारीहरु भारतबाट साइकल, मोटरसाकलमा तरकारी ल्याएर बढी मुनाफामा बेच्ने गरेकोले तरकारी महँगो भएको एकथरिको भनाइ छ । पेठिया बजारका खुद्रा व्यापारी मनोज साहले हामीले खरीद गरेको तरकारीमध्ये झण्डै ५० प्रतिशत तरकारी कु्हिने र सड्ने हुनाले महँगो मूल्यमा बिक्री गर्न बाध्य भएको बताउँछन् ।

दोब्बर मुनाफा राखेर बेच्न पाइन्छ र ? भन्ने जिज्ञासामा व्यापारी साह भन्छन्,‘थोक व्यापारीहरु थोरै नाफा राखेर राम्रो नराम्रो सबै मिसाएर बिक्री गर्छ, फेरि उपभोक्ताले रोजीरोजी तरकारी लिन्छन्, यो बेलामा चर्को मूल्य नलिएर के गर्ने त ? घाटा खानु भएन ।’ मोज्दात कानूनमा कुनै पनि वस्तुमा २० प्रतिशतभन्दा बढी नाफा खाएर बेच्नुलाई कालो बजारी मानिन्छ र त्यस्ताविरुद्ध दण्ड जरिवाना समेतको व्यवस्था गरेको छ । उपभोक्ता हित संरक्षण मञ्च जनकपुरधामका एक सदस्यले व्यापारीको मनोमानी हुँदा समेत अनुगमन गर्ने निकाय मौन रहेका कारण तरकारीको मूल्यमा यो समस्या आएको बताउँछन् । उनी भन्छन,‘ हाम्रो कानुनमा कुनै कमजोरी छैन, कार्यान्वयन तहमा बसेको जिम्मेवार व्यक्तिको इच्छाशक्ति नभएका कारण यो अवस्था आएको हो । उनीहरु आफ्नो कर्तव्य र जवाफदेहितामा पूर्णप्रतिबद्ध नहुँदासम्म व्यापारीहरुले उपभोक्तालाई ठग्न र लुट्ने गरिरहन्छ ।’

कालो बजारी तथा सामाजिक अपराध र सजाय ऐन २०३२ मा उत्पादन मूल्यबाट उपभोक्तासम्म आइपुग्दा २० प्रतिशतभन्दा कुनै पनि वस्तुको मूल्य बढाउन नपाइने स्पष्ट उल्लेख गरिएको छ र थोक तथा खुद्राकै एक सय प्रतिशतसम्म मूल्य बढाएर खुलेआम बिक्री गरिरहेको छ । खै कसलाई कारबाही भएको छ र ? उपभोक्ताहरुको प्रश्न छ । तर व्यापारीको भनाइलाई मान्ने हो भने भारतबाट हरियो तरकारी ल्याउँदा कृषि शुल्क ९ प्रतिशत, अग्रिम कर ५ प्रतिशत गरी १४ प्रतिशत भन्सार लागेपछि भाउ महँगो हुन जान्छ । मधेशको जिल्लामा अत्यधिक तरकारी उत्पादन भए पनि आर्थिक वर्ष २०७९÷०८० मा भिठ्ठामोड नाका भएर भारतबाट २ करोड ६६ लाख ६६ हजार ५० रुपैयाँ मूल्य बराबरको १४ लाख २२ हजार २ सय २४ केजी हरियो तरकारी नेपाल भित्रिएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी सुमित रौनियारले बताए ।

जथाभावी मूल्य राखेर कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्ने जिम्मेवारी पाएको वाणिज्य कार्यालयका पदाधिकारीहरुले तरकारीको थोक र खुद्रा मूल्यबीच दोब्बरको अन्तर रहेको कुरा अहिलेसम्म थाहा नभएको बताए । उपभोक्ताको अनुभवमा असारको अन्तिम सातादेखि नै थोक बजारमा तरकारीको मूल्य महँगो हुन थालेको हो । तर व्यापारीहरुले चर्को मूल्यमा तरकारी बेच्दै आएकोले सम्बन्धित निकायले अनुगमन गरी कालोबजारी गर्नेलाई प्रचलित कानून बमोजिम कारबाही गर्नुपर्ने पीडित उपभोक्ताहरुको भनाइ छ ।

Comment


Related News