अपडेट 
२०८० आश्विन २३, मंगलवार ०७:०६

इजरायलमा मारिएका दश नेपालीमध्ये धनुषाको सपही ४ का आनन्दको गाउँ अहिले शोकमा डुबेको छ ।

प्यालेस्टाइनको हमास आतंकवादीले इजराइलमाथि गरेको मिसाइल आक्रमणमा १० नेपालीको निधन भएको छ । जसमध्ये धनुषाका सपही बस्ने सोमन साहका छोरा आनन्द साहको समेत निधन भएको छ । चार छोराछोरीका बुवा सोमन जेनतेन गरी कहिले खेतीपातीको भरमा त कहिले विदेशको भरमा छोराछोरीलाई उच्च शिक्षा दिन परिश्रम गरिरहेका थिए । छोरा आनन्दले बीएससी एग्रीकल्चर पछि नेपालबाट इजरायल सरकारको सहयोगमा ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत २७ दिन पहिला मात्रै इजरायल गएका थिए । इजराइल जाने चर्चाले सपहीका युवाहरुमा नयाँ उमंग र उत्साह थपिएको थियो ।

आनन्दको सानो उमेरमै उनको लगन र पढाइ प्रतिको रुचीले युवामाझ उनी लोकप्रिय थिए । तर तीन बहिनी, बुवा, आमा र हजुरआमाको साहाराको रुपमा रहेका घरका जेठा सन्तान आनन्दको अल्पायुमै निधनले परिवारमात्र नभएर सम्पूर्ण गाउँ नै शोकमा डुबेको छ । घरको आंगनमा वियोगमा मृतक २२ वर्षीय आनन्दका बुबा कुनै बेला मुर्छा पर्छन् भने कुनै बेला कराई कराई छोराको वियोगमा क्रन्दन गर्छन । आनन्द इजरायल गएको २७ दिनमै मृत्युको खबर सुन्नु पर्छ भन्ने कसैले कल्पना पनि गरेका थिएनन । आनन्दकी आमा शिवकली देवी, हजुर आमा बसमतिया देवी साह र कान्छी बहिनी आरतीको हालत पनि हेर्नै नसकिने छ । इजरायलमा हमासले आक्रमण गरेको खबर प्रकाशमा आएसँगै आनन्दकी बहिनीले पटक–पटक फोन सम्पर्कको प्रयास गरेकी थिइन् ।

आनन्दसँग सम्पर्क हुन नसकेपछि उनको साथीसँग कुरा गर्दा आनन्दको मृत्यु भएको खबर प्राप्त भएको थियो । जनकपुरधामकै एन्जलस बोर्डिङ स्कुलबाट एसईई र मिट क्याम्पसबाट प्लस–टु पछि वीएससी एग्रीकल्चर सकेपछि आनन्द इजरायल पुगेका थिए । प्लस–टुको अध्ययन सकेपछि आनन्द सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिपल क्याम्पस, कैलालीमा बीएससीएजी पढ्न भर्ना भए । एग्रीकल्चरको पढाइ सकिएपछि कलेजले नै अभ्यासका लागि इजरायल पठाएको थियो । इजरायल गएपछि आनन्दले घरमा आमाबुबा तथा बहिनीहरुसँग दैनिकजसो कुराकानी गर्थे । परिवारका सदस्यहरुसँग अन्तिम कुराकानी शुक्रबार राति ८ बजेतिर भएको थियो । आनन्दले कल गर्दा बुबा सोमन बाहिर थिए भने आमा र बहिनीहरुसँग लामै कुराकानी गरेका थिए ।

शनिबार इजरायलमा आक्रमण भएको र त्यसमा नेपाली पनि परेको खबर सुनेपछि घरपरिवारले आनन्दसँग लगातार सम्पर्क गर्ने प्रयास गरिरहे । परिवारका सदस्यले आइतबार अबेरसम्म आनन्दलाई फोन गरिरहे । तर आनन्दसँग कुरा हुन पाएन । ‘मोबाइलमा फोन जान्थ्यो, तर फोन उठेन,’ आनन्दकी बहिनी सरस्वतीले भनिन् । आनन्द पढ्ने कलेजमै उनको बहिनी पर्ने रिमा साह पनि पढ्छिन् । उनीसित परिवारको कुरा भइरहेको थियो । रिमामार्फत नै आनन्दको बारेमा परिवारले जानकारी लिने गरेको थियो । उनले आनन्द घाइते भएको र उपचार भइरहेको परिवारजनलाई बताएकी थिइन् । साँझ मृतक र घाइतेको विवरण सार्वजनिक भएपछि भने परिवार छाँगाबाट खसेजस्तै हुन पुग्यो । यता, परिवारजनलाई भेट्न पुगेका धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले नेपाल सरकार र परराष्ट्र मन्त्रालयसंग आफ्नो तर्फबाट समन्वय गरी आनन्दको शव ल्याउन पहल गरिरहेको बताए ।

इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । घाइते भएकाहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । त्यस्तै, अन्य ठाउँमा रहेका नेपालीहरुलाई सरकारले जारी गरेको विभिन्न सम्पर्क नम्बरमा सम्पर्क गरी स्थिति बुझनुका साथै, नेपाल फर्काउने वातावरण मिलाइरहेको जनाइएको छ । यता, इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् । मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ । यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गर्नुका साथै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयले गृहमार्फत निकासा गर्नेछ ।

Comment


Related News

Latest News

Trending News