अपडेट 
२०८० आश्विन २४, बुधबार ०६:५२

नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनको पूर्व सन्ध्यामा सचिवालयको बैठकमा चर्काचर्की भएको छ । स्पष्ट रुपमा दुई खेमामा विभाजित सचिवालय बैठकमा चर्काचर्की भएको एकजना सचिवालय सदस्यले जनाए । पार्टीको दुबै गुटले प्रदेश अध्यक्षका उम्मेदवार सार्वजनिक मंगलबार अबेर रातिसम्म गरेको छैन् । तर चुनाव निश्चित हुने नेताहरु बताउँछन् ।

एमालेका सचिव समेत रहेका धनुषाका नेता रघुवीर महासेठले अध्यक्षमा सर्लाही जिल्ला अध्यक्ष रहेका तेजनारायण साहको नाम अगाडि सारेको स्रोतले जनाएका छन् । स्रोतका अनुसार महासेठले अध्यक्षमा साहलाई उम्मेदवार बनाउने आफ्ना निकट सहयोगीहरुलाई बताएका छन् । पार्टीमा बलियो पकड भएका सिरहाका लिलानाथ श्रेष्ठ लगायतका नेताहरुले सिरहा जिल्लाका पूर्व अध्यक्ष चन्देश्वर मण्डललाई उम्मेदवार बनाउन चाहेका थिए । सर्वसम्मति रुपमा नै मण्डललाई अध्यक्ष बनाउन चाहेका श्रेष्ठको चाहना पूरा हुनसक्ने सम्भावना समाप्त नै भइसकेको स्रोतहरुले जनाएका छन् । युवा नेता सरोज यादव नेतृत्वको समूहले भने उम्मेदवार टुंगो लगाउन सकेको छैन् ।

यादवको समूहले केन्द्रीय निर्देशन कुरिरहेको छ । प्रदेशमा बहुमत रहेको दाबी गरिएको यादव समूहले उम्मेदवारी दिने भने निश्चित रहेको छ । पार्टी अध्यक्ष ओली निकट रहेका यादवले संकेत मिल्नासाथ उम्मेदवार सार्वजनिक गर्ने तयारीमा रहेको बताइन्छ । सो समूहले लक्ष्मीनारायण यादवलाई उम्मेदवारको रुपमा अगाडि सारे पनि औपचारिक रुपमा सार्वजनिक गरेको छैन् ।

प्रदेशमा चुनाव भए महासेठको समूहमा भारी घात हुने सम्भावना छ । बाध्यतावस उनको समूहमा रहेका नेताहरुले विपक्षमा मतदान गर्ने मनस्थिति बनाइसकेका छन् । एकल रुपमा उम्मेदवार घोषणा गरे महासेठको पक्षमा मतदान नगर्ने धनुषाका एकजना प्रतिनिधि नेताले बताए । अधिवेशनमा कति जना प्रतिनिधि हुने टुंगो मंगलबार अबेर रातिसम्म लागिसकेको छैन्।

सचिवालयले मनोनित गर्ने र बिभिन्न जनवर्गीय तथा पेशागत संगठनको प्रतिनिधिको अन्तिम सूची आइसकेको छैन् । सचिवालयले मनोनित गर्ने प्रतिनिधिहरुको चयन पनि बाँकी छ । एमालेका नेताहरुका अनुसार मधेश प्रदेशमा १ हजार १ सय बढी प्रतिनिधि रहने छन् । बुधवार र बिहीबार २ दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घाटन र बन्द सत्र हुने बताइएको छ ।

अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष ओली बिहानै जनकपुरधाम आउने कार्यक्रम रहेको छ । उनी जनकपुरधाममा जानकी मन्दिरको दर्शन पूजा गर्नेसमेत कार्यक्रम रहेको छ । मध्यान्ह उनले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महेन्द्रनारायण निधि संस्कृति केन्द्र भवनमा मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन र बन्द सत्रको कार्यक्रम राखिएको छ । अध्यक्ष ओलीले सर्वसम्मतबाट प्रदेश अध्यक्ष चयन गर्न दिएको निर्देशन विपरीत सबै प्रदेशमा चुनाव नै भएको छ ।

मधेश प्रदेशमा पनि चुनाव हुने पक्का रहेको नेताहरुले जनाएका छन् । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पनि महासेठ विरोधी खेमालाई सघाइ रहेको बताइन्छ । अधिवेशनको बन्द सत्रमा प्रतिनिधि छनोटको विषयमा विवाद हुन सक्ने सम्भावना रहेको छ । प्रदेश अधिवेशनको उद्घाटनमा अध्यक्ष ओली आउन लागेपछि कोशी र लुम्बिनी प्रदेशका नेताहरु पनि जनकपुरधाम आएका छन । कोशीमा ओलीले चाहेकै नेता अध्यक्ष भएका छन ।

मधेश प्रदेशमा पनि उनकै चाहना अनुरुपका नेता अध्यक्ष हुने बताइन्छ । महासेठले पनि ओली पक्षमै रहेको दाबी गरेको कारण प्रतिनिधिहरु पनि अन्योलमा परेका छन् । तर यहाँको चुनाव प्रदेशको राजनीतिक गुटबन्दीको आधारमा हुने बताइएको छ । महासेठ पक्षधरले समग्रमा ६० प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन् । तर यादव समूहले ७० प्रतिशत आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् । दुबै पक्षको दाबीकै कारण चुनाव हुने निश्चित रहेको नेताहरु बताउँछन् ।

चुनावमा नै जाने निश्चित भएकाले मतदान प्रक्रिया शुक्रबार लम्बिन सक्ने अनुमान गरिएको छ । यद्यपि अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गरी बुधवार नै फर्किने छन् । नेताहरुका अनुसार दुबै समूहले उनको संकेतलाई कुरिरहेका छन् । फोनबाट संकेत नपाएका नेताहरुले बिहान हुने भेटको क्रममा ओलीको चाहना बुझ्ने प्रयास गर्ने छन् ।

Comment


Related News

Latest News

Trending News