अपडेट 
२०८० आश्विन २५, बिहीबार ०७:२८

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेप्रति मधेश प्रदेशमा लहर चलेको बताएका छन् ।

जनकपुरधाममा बुधबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेश प्रदेशमा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेको लहर नै चलेको दाबी गरे । वामपन्थी भनेर, कम्युनिष्ट भनेर अनेक प्रकारका नाराहरु लगाई राख्या छ, कम्युनिष्ट पार्टी फुटाउने, जुटाउने, कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थीको पाउँमा लगेर सरकार झुकाउने, विकासको काम रोक्ने, सुशासन खलबलाउने अनि फेरि कम्युनिष्टको नाम लिने, यस्ताहरुको जालझेलमा नपर्न अध्यक्ष ओलीले आग्रह गरे ।

‘कम्युनिष्ट भनेको देशभक्त र विकास हाँक्न सक्ने हो’ उनले भने, त्यो भनेको एक मात्र एमाले पार्टी हो । विकास चाहनेहरु, सुशासन चाहने साथीहरु एमालेमा आउनुस्, यति मान्छे अटाएको छ, तपाईहरु नअटाउने कुरै हुँदैन । आउनुस्, हामी सबैले मिलेर देश बनाउँ ’ उनले भने । २०७४ सालको निर्वाचनमा हामीलाई मधेश प्रवेश गर्न दिएनन, अध्यक्ष ओलीले भने–‘तर २०७९ सालको निर्वाचनमा मधेशको नम्बर एक पार्टी बन्यो । तर अहिले पनि हामीसँग सरकार बनाउने आवश्यक सिट छैन । २५ सिट मात्रैले सरकार बन्दैन । त्यसकारण आगामी निर्वाचनमा ६० सिट ल्याउने गरी तपाईहरु तयारी गर्नुस् ।’

नेकपा एमालेको सरकार नबनेसम्म मधेशको विकास र समृद्धि नहुने अध्यक्ष ओलीको भनाइ थियो । एमाले प्रतिको जनलहर, एमालेको काम गराई देखेर कांग्रेस र माओवादी पार्टी आतिएको भनेर अध्यक्ष ओलीले टिप्पणी समेत गरे । पार्टीले लिएको मिसन २०८४लाई मध्यनजर गर्दै त्यसको तयारीमा अहिलेदेखि लाग्न अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

लिड्डदेनलाई लोप्पा, ओलीलाई ‘कमल’को माला
नेकपा एमाले परित्याग गरी जनमत पार्टीबाट पछिल्लो पटक प्रदेश सभामा चुनाव लडेका पूर्व प्रदेशसभा सदस्य किशोरी साह ‘कमल’ फेरि एमालेमा फर्केका छन् ।

चुनावको एकदिन अघि मात्रै जनमत प्रवेश गरी चुनाव लडेका उनी बुधवार पुनः एमालेमा फर्केका छन् । उनी राप्रपामा प्रवेश गर्ने तयारी गरेका थिए । सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन जनकपुरधाम हुँदै जाने क्रममा उनलाई पार्टीमा प्रवेश गराउने तयारी गरिएको थियो । बुधवार बिहान पत्रकार सम्मेलन गरी किशोरी साहको पार्टी प्रवेश बारे जानकारी दिइने तयारी भए पनि अन्तिम समयमा कमलले राप्रपा प्रवेश गर्ने निर्णयबाट पछि हटेका थिए ।

उनी राप्रपामा नजाने भएपछि पार्टीका अध्यक्ष लिङ्गदेन जनकपुरधाम विमान स्थलबाट नै सिरहाको मिर्चैया गएका थिए । नेकपा एमाले मधेश प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उनलाई प्रवेश गराए । अध्यक्ष ओलीले उनलाई टिका लगाएर गम्छा ओढाएका थिए । २०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १ (१) बाट नेकपा एमालेबाट उनी विजयी भएका थिए । तर टिकट नपाएकै झोकमा उनले ०७९ को निर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी प्रतिनिधिसभामा चुनाव लडेका थिए ।

चुनावमा पराजित भएका साह पुनः आफ्ना समर्थकसहित एमालेमा प्रवेश गरेका छन् । जनमतबाट चुनाव लड्दा पार्टीभित्र गुटबन्दी गरेको र आफ्नै नेता विरुद्ध अनर्गल प्रचारबाजी गरेको भन्दै उनलाई पार्टीले ब्ल्याक लिस्टेड गरेको पार्टीका एक नेताले बताए । चुनावपछि जिल्ला स्तरीय बैठकमा पूर्व सांसद साहले आफ्नै पार्टीका नेता कार्यकर्ताले घात गरेर चुनाव हराएको भनेपछि बैठकमै कुटाकुट भएको थियो ।

अध्यक्षका चार आकांक्षी
नेकपा एमालेको मधेश प्रदेश अध्यक्षका लागि ४ जना आकांक्षी रहेका छन् । केन्द्रीय सचिवसमेत रहेका मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईका अनुसार अधिवेशनमा १ हजार २१ जना प्रतिनिधिले ५ पदाधिकाकारीहित २ सय ३५ सदस्यीय नयाँ प्रदेश कमिटी निर्वाचित गर्दैछन् । इन्चार्ज भट्टराईका अनुसार सर्वसम्मत नेतृत्व छनोटको प्रयास भइरहेको छ । सर्वसम्मतका लागि सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनेछ । ‘पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिस्पर्धा गर्ने छुट छ । तर हामी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्नेछौँ’, भट्टराईको भनाइ छ ।

दुई दिनसम्म चल्ने अधिवेशनमा ६० हजार सदस्यमध्ये १ सय ३६ पालिका, २३ जनसङ्गठन, ८ प्रदेश विभागका सदस्यले चुनेको १ हजार २७ जना प्रतिनिधिले सहभागिता जनाउने छन् । नेतृत्वका लागि अहिलेसम्म सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका लक्ष्मीनारायण यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् । वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुख भएकाले उनी अध्यक्षमा दोहोरिन नपाउने एमालेको निर्णयअनुसार अन्य नेताले अवसर पाउने भएका छन् ।

Comment


Related News

Latest News

Trending News