अपडेट 
२०८० आश्विन २५, बिहीबार १२:१६

एमालेको पहिलो मधेस अधिवेशन चलिरहँदा प्रतिनिधि छनौट अवैधानिक तरिकाले आरोप लगाइएको छ । एमालेको मधेस प्रदेश समितिका सदस्य नागेश्वर साहले सर्लाहीको विभिन्न पालिकाबाट विधान मिचेर प्रतिनिधि छनौट गरिएको आरोप लगाएका छन् ।

सर्लाहीको ब्रह्मपुरी, कौडेना र पर्सा गाउँपालिकाबाट प्रतिनिधि छनौट गर्दा विधानलाई मिचिएको उनले बताए । साहका अनुसार एमालेको सर्लाही ईन्चार्ज एवं पूर्वमन्त्री ज्वाला साह र अध्यक्ष राजनारायण साहले मिलेर प्रतिनिधि छनौटमा धाँधली गरेका छन् ।

एमालेको मधेस अधिवेशनलाई लिएर असोज १३ गतेसम्ममा प्रतिनिधि छनौट गरेर प्रदेशमा पठाउनु पर्ने थियो, साहले भने ‘तर ईन्चार्ज र जिल्ला अध्यक्ष मिलेर बैठक छलेर विधान विपरित प्रतिनिधिहरुको नाम पठाए ।’

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाबाट मलंगवाका पूर्व प्रमुख निरसल साह, कौडेना गाउँपालिकाबाट मलंगवाकै सुरेश साह र पर्सा गाउँपालिकाबाट भिखारी साहको नाम प्रतिनिधि छनौट गरी पठाइएको छ । तीनवटै पालिकाबाट ३/३ जना प्रतिनिधिहरुको नाम पठाइएकोमा यी व्यक्तिहरु सम्बन्धित भूगोलबाट नरहेको एमाले मधेस प्रदेश समिति सदस्य साहले आरोप लगाए ।

उनले भने ‘एक त यी पालिकाहरुमा बिना बैठक गरी प्रतिनिधि छनौट गरिएको छ, त्यसमाथी केही व्यक्तिहरु जो सम्बन्धित भूगोलबाट छैनन् त्यस्ता व्यक्तिहरुलाई समेत प्रतिनिधिको रुपमा छनौट गरिएको छ ।’ अगाडी भने ‘विधान विपरित छनौट गरिएकाहरुको नाम सच्चिनु पर्छ ।’
उनले यो विषयलाई लिएर प्रदेशको सचिवालय, मधेस प्रदेश ईन्चार्ज योगेश भट्टराई, संगठन विभाग प्रमुख खगराज अधिकारी, सर्लाही जिल्ला ईन्चार्ज ज्वाला साह लगायत समक्ष निवेदन समेत दिएका हुन् । तर निवेदनको कुनै सुनवाई नगरी उल्टै जे गर्नु छ गरेर देखाउनुस भनेर जिल्ला ईन्चार्ज ज्वालाले आफूलाई हप्काएको साहको आरोप छ ।

यता सर्लाही जिल्ला ईन्चार्ज समेत रहेकी पूर्वमन्त्री ज्वालाले आफूहरु समक्ष निवेदन नआएको बताइन् । उनले भनिन् ‘निवेदन त आएको छैन तर नागेश्वरजी आजै यो विषयमा म समक्ष कुरा राख्न आउनु भएको थियो ।’ तर सहमति गरेरै जिल्ला अध्यक्षले प्रतिनिधिहरुको नाम छनौट गरेर पठाएको उनले दावी गरिन् ।

Comment


Related News

Latest News

Trending News