अपडेट 
२०८० आश्विन २६, शुक्रबार ०८:३९

नेपाल भारतको खुल्ला सिमानाको व्यवस्थापन समय सापेक्ष गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

नेपाल भारत खुल्ला सीमा संवाद समूह जनकपुरद्वारा आयोजित नेपाल भारत खुल्ला सीमा विषयक अन्तर संवाद कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका छन् । कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

नेपाल भारतको सम्बन्ध परापूर्वकालदेखि रहेको उल्लेख गर्दै मन्त्री सिंहले सीमा क्षेत्र नयाँ परिवेश अनुसार व्यवस्थापन नहुँदा युवाहरु लागू औषधको कुलतमा फस्नुका साथै लागू औषधको कारोबार सहज रुपमा गर्ने गरेको चर्चा गरे । खुल्ला सीमाको कारण दुबै मुलुकका नागरिकलाई सहजता भएको बताउँदै मन्त्री सिहंले सीमावर्ति क्षेत्रमा हुने गलत क्रियाकलाप रोक्न दुबै मुलुकका सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । मधेश प्रदेशका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका प्रदेश सांसद रामसरोज यादवले चुरे विनाशको असरबाट दुबै देशका जनता नराम्रोसँग प्रभावित भएकाले यसको संरक्षणको लागि दुबै सरकारबाट पहल हुनुपर्ने बताए ।

नेकपा एमालेका मधेश प्रदेशका उपनेता दीपेन्द्र ठाकुरले नेपाल भारतको सम्बन्धलाई नेपालको पशुपतिनाथ र भारतको केदारनाथ, भारतको अयोध्या र नेपालको जानकी माताले थप बलियो बनाएको बताए । सीमावर्ति क्षेत्रमा आउने विवादलाई शान्तिपूर्ण रुपमा समाधान गर्नुपर्ने बताउँदै सीमा क्षेत्रमा दुबै देशका नागरिकलाई कुनै प्रकारको असहजता हुने जस्ता गतिविधि गर्न नहुने बताए । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले नेपाल र र भारत बीच रोटीबेटीको सम्बन्ध रहे पनि खुल्ला सिमानाको विषयमा बृहत् समीक्षा हुनु जरुरी रहेको बताए ।

कार्यक्रममा संविधान सभा सदस्य डा.विजय कुमार सिंहले नेपाल भारतबीच भएको सुगौलि संधि अनुसार पनि भारतले नेपालसँग व्यवहार गर्न नसकिरहेको बताए । भारत सरकारको वीरगञ्ज स्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत शैलेन्द्र कुमारले नेपाल भारतबीचको सम्बन्ध अन्य मुलुकको सम्बन्ध भन्दा फरक भएकाले सिमानामा रहेको भारतीय सीमा सुरक्षा बललाई नेपालीसँग सरल व्यवहार गर्न निर्देशन दिइएको बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले खुल्ला सीमाका कारणले चोरी पैठारी बढेकोले सीमावर्ती नेपालका बजारमा कारोबार घटेको चर्चा गर्दै सीमाको व्यवस्थापन वैज्ञानिक एवं मित्रवत् हुनुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल भारत खुल्ला सीमा संवाद समूहका अध्यक्ष राजीव झाले सीमा सम्बन्धी विवाद सुल्झाउन गठन गरिएको इपिजी समावेशी नरहेको बताए ।

इपिजी गठन हुँदा सीमावर्ति क्षेत्रमा बस्ने कुनै विज्ञलाई नराखिएको उनको भनाइ थियो । कार्यक्रममा दुबै देशका नागरिक सम्मिलित सीमा संवाद समूहका अध्यक्षबाट संयुक्त रुपमा सीमामा देखिएको समस्या समाधानका लागि भारतीय महावाणिज्य दूतलाई लिखित ज्ञापनपत्र बुझाएका थिए ।

Comment


Related News

Latest News

Trending News