अपडेट 
२०८० आश्विन २८, आईतवार ०८:०५

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि दशैँ शुरु भएको मानिन्छ ।

आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।

कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।

पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिइ सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो ठाउँमा विसर्जन गरिन्छ ।

मुख्यमन्त्री यादवद्वारा शुभकामना व्यक्त

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विजयादशमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अभय शक्ति बल प्रदायिनी माता भवानीको पावन आराधनाको पर्व विजयादशमीको पावन उपलक्ष्यमा सम्पूर्ण देश, मधेशबासी एवं देश बाहिर रहेका समस्त मातृभक्त सनातन धर्मावलम्बी , दिदीबहिनी, दाजुभाईहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु, उल्लेख गरेका छन् । असत्यमाथि सत्यको विजयको प्रतीकको रुपमा मनाइने यो पर्व पारिवारिक सम्मिलन र सम्बन्ध सेतुको पनि पर्व रहेको बताउँदै उनले हाम्रो समाजमा चुनौतीहरु हुनसक्छन्, छन्, हाम्रो सम्बन्धमा तनावहरु हुनसक्छन् तथापि आपसी सौहार्दमा आंच नआउने किसिमले यो पर्व मनाउन समस्त भक्तजनहरुसंग म विनयपूर्वक अपिल गर्न चाहन्छु, विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले भनेका छन्–‘हाम्रा समस्याहरु साझा छन्, हाम्रा चुनौतीहरु साझा छन् हाम्रो एकमात्र लक्ष्य जनताको मुहारमा उज्यालो ल्याउनु हो । तसर्थ यस पावन अवसरमा म सबै दल, पक्ष प्रतिपक्ष, नागरिक समाज, नारी–शक्ति, संचार जगत, विद्वत वर्ग, युवाजनसंग प्रदेशको समृद्धिका लागि साझा संकल्पका साथ हातेमालो गरी अघि बढ्न आह्वान गर्न चाहन्छु ।’

Comment


Related News

Latest News

Trending News