अपडेट 
२०८० आश्विन २९, सोमबार ०८:४९

दशैं आएसंगै वीरगञ्ज आसपासको नाकाबाट तस्करी बढेको छ । सीमावर्ती क्षेत्रबाट तस्करीको सामानहरु प्रहरीले बरामद गरे पनि तस्करी चलाउने व्यक्ति र गिरोहका नाइकेहरु प्रहरीको पकड भन्दा बाहिर रहेका छन् ।

भारतबाट तस्करी गरी ल्याइएको करिब ५१ लाख भन्दा बढी मूल्यको डेस्कटप र ल्यापटपका पार्टस प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ बाट उक्त सामानहरु प्रहरीले बरामद गरेको छ । स्थानीय अजय सिंहले आफ्नै चार तल्ले घरमा सञ्चालन गरेको ए.डी.कम्प्यूटर सप्लायर्समा शनिबार साँझ प्रहरीले छापा मारेर ५१ लाख २६ हजार ७०० रुपैयाँ मूल्यको कम्प्यूटर , ल्यापटप , हार्डडिस्क लगायतका इलेक्ट्रोनिक्स सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उक्त सप्लायर्स सञ्चालन गरिएको घरबाट डेल कम्पनीको सिपियु २१० थान, मोनिटर ४२ थान, डेल कम्पनीको ल्यापटप ८ थान, हार्ड डिस्क ८८ थान र माउस ५५० थान बरामद भएको जनाइएको छ । यसै गरी प्रहरीको छापामारीमा मोनिटर वायर ३१२थान, सिसिटिभी वायर १८ हजार मिटर, मदर बोर्ड २५ थान, ग्राफिक कार्ड ११ थान, कुलिङ्ग फ्यान १९ थान, ल्यापटपको चार्जर १३१ थान र ल्यापटपको ब्याट्री २०० थान लगायतका सामानहरु बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले घरको भूंई तल्लामा सञ्चालन गरेको सप्लायर्समा छापा मार्दा भारतबाट राजश्व छलेर ल्याइएका ती सामानहरु बरामद भएको थापाले बताए । आवश्यक कारबाहीको लागि उक्त सामानहरु बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा आइतबार पठाइएको पर्सा प्रहरीले जानकारी गराएको छ ।

त्यति ठूलो मात्रामा तस्करीको सामानहरु बरामद भए पनि सप्लायर्सका सञ्चालक सिंह भाग्न सफल भएका छन् । उनको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

Comment


Related News