अपडेट 
२०८० आश्विन ३०, मंगलवार ०७:५०

मधेश प्रदेश सभामा भारतीय अतिथि आउने भन्दै लाखौंको खर्च गरिएको छ ।

भारतीय अतिथि आउने नाममा गरिएको ‘भीआईपी’ भोजमा सय जनाको भोजन बनाइएको थियो । त्यसमा लाखौं खर्च भएको बताइएको छ । भारतको बिहार राज्यका बिहार विधान परिषदका अध्यक्ष दिवेश चन्द्र ठाकुर लगायत बिहार सरकारका केही मन्त्री र केही एमएलए र एमएलसी आउने प्रचार गरिएको थियो ।

प्रदेश सभामुखले भारतीय अतिथिहरुलाई अबेर रातिसम्म कुर्दा पनि कुनै सूचना नै आएन । धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले बिहार विधान परिषदका अध्यक्ष सहितका केही नेताहरु अनौपचारिक भ्रमणको क्रममा जनकपुरधाम आउन लागेको बताएका थिए । तर उनलाई पनि औपचारिक रुपमा कुनै जानकारी गराइएको थिएन् । सभामुखको भीआईपी भोजमा सीडीओलाई पनि निम्तो थिएन् । भारतबाट आउने अतिथिहरुलाई नेपाल र भारतको सीमा भिठ्ठामोडमा स्वागत गर्ने कार्यक्रम रहेको थियो ।

भारतीय अतिथिहरुलाई स्वागत गर्न जनता समाजवादी पार्टी(जसपा)का केन्द्रीय कार्यकारिणी समितिका सदस्य समेत रहेका पूर्व मन्त्री हरिनारायण यादवसमेत करिब २ सय जना नेता, कार्यकर्ता जलेश्वरस्थित पार्टी कार्यालयमा कुरेका थिए । राति आठ बजेसम्म नआउँदा उनीहरु निराश भएर फर्केका थिए । अवध मिथिला फाउण्डेशनका अध्यक्ष डा.पी.के.ठाकुरले जसपाका नेताहरुलाई दिउँसो ३ बजे स्वागतका लागि बोलाएका थिए ।

राति ८ बजेसम्म कुनै खबर नपाएका जसपाका नेताहरु निराश भएर घर फर्के । अबध मिथिला फाउण्डेशन आयोजक रहेको सो कार्यक्रमका भारतीय अतिथिहरुको सम्मानमा भीआईपी भोजको आयोजना सभामुख मण्डलले गरेका थिए ।

फाउण्डेशनका अध्यक्ष डा.पी.के.ठाकुरकै सूचनाको आधारमा सभामुख मण्डलले भोजमा लाखौं खर्चे । तर अतिथि पटनामै रहेका छन् । मुजफ्फरपुरस्थित टुडे सहयोगी अमरेन्द्र तिवारीले बिहार विधान परिषदका अध्यक्ष दिवेश चन्द्र ठाकुरसँग गरेको संक्षिप्त वार्तामा जनकपुरधाम जाने आफ्नो कुनै कार्यक्रम नरहेको ठाकुरले जनाएका छन् । ‘भारतीय राष्ट्रपतिको बिहारमा १९ तारेखमा कार्यक्रम रहेको छ ’अध्यक्ष ठाकुरले भने, त्यो कार्यक्रमको तयारी चलिरहेको बेला प्रदेश बाहिर जाने प्रश्न नै उठ्दैन् ।

ठाकुर मुजफ्फरपुर जिल्लाको रुन्नीसैदपुरका स्थायी बासिन्दा हुन् । उनी चौथो पटक एमएलसीको अध्यक्ष बनेका हुन् । ठाकुर ७ जिल्लाका स्नातकको मतबाट चुनिए पनि उनको वैधानिक र राजनीतिक भूमिका सीमित छ । हाल उनी नितिश कुमार नेतृत्वको जेडीयूमा रहेका छन् । अबध मिथिला फाउण्डेशनका अध्यक्ष ठाकुरले वितरण गरेको निम्तोमा २९ गते राति प्रदेश सभामा भोज र ३० गते बिहान जानकी मन्दिरको दर्शन, मध्यान्ह जलेश्वर नगरपालिकामा ८४ व्यञ्जन र दिउँसो धनुषाधाममा सम्वोधन तथा सांस्कृतिक कार्यक्रम उल्लेख छ । उनले प्रदेशका मुख्यमन्त्री र प्रदेश सभामुखको नाम उल्लेख गरे पनि भारतीय अति विशिष्ट राजनीतिज्ञहरु भनेर मात्र उल्लेख गरेका छन् । विश्व खाद्य दिवसको अवसरमा कार्यक्रम राखेको फाउण्डेशनको कार्यक्रममा लगानी सरकारी निकायहरुले गरेको देखिन्छ ।

अबध मिथिला फाउण्डेशनको कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पनि आउने भनिएको थियो । जसपाका नेताहरु आफ्ना अध्यक्ष सहभागी हुनेभएकाले भारतीय अतिथिहरुको स्वागत सत्कारमा जुटेका थिए । सीमावर्ती क्षेत्रमा बिहारका मुख्यमन्त्री नितिश कुमार आउन लागेको प्रचार गरिएको नेपाली कांग्रेसका नेता बजरंग नेपालीले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News