
गौर नगरपालिका वडा नम्बर ३ मा आफ्नो छिमेकी महिलामाथि निर्घात कुटपिट गरी गम्भीर रुपमा घाइते बनाउने बाबु छोरामाथि मुद्दा दर्ता भएको छ ।
घरमा लगाइएको भेन्टिलेशन बन्द गर्ने विषयमा स्थानीय मनोज वर्माकी ४५ वर्षीया श्रीमती नेकपा एमाले मधेश प्रदेश महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्य समिति सदस्य समेत रहेकी सुनिता कुमारी श्रीवास्तवलाई घाइते बनाएको आरोपमा ज्यान मार्ने उद्योग तथा अंगभंग सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ ।
बाँसको भाटाले नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष समेत रहेका प्रेमचन्द्र झा तथा उनका छोरा अभिनाश झाले प्रहार गर्दा महिलाको नाक काटिएर गम्भीर रुपमा घाइते भएकी थिइन । घाइते भएकी महिलालाई नाक लगायत अन्य भागमा गम्भीर चोट लागेको कारण थप उपचारको लागि नेशनल मेडिकल कालेज वीरगञ्जमा सघन कक्षमा उपचार भइ रहेको पीडितका श्रीमान मनोज वर्माले जानकारी दिए ।
झाले आफ्नो घरमा लगाएको भेन्टिलेशन बन्द गर्नुपर्ने पंचायतमा सहमति भए बमोजिम बन्द गर्न आग्रह गर्दा बाउ छोरा मिलेर आफ्नो श्रीमतीलाई कुटपिट गरी घाइते बनाएको उनले बताए ।
कुटपिटमा संलग्न रहेको आरोपमा अभिनाश झालाई प्रहरीले पक्राउ गरेको छ भने अध्यक्ष प्रेमचन्द्र झाको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइतेका श्रीमानले दिएको किटानी जाहेरी दर्खास्तको आधारमा ज्यान मार्ने उद्योग र अंगभंग सम्बन्धी कसुर मुद्दा दर्ता गरी अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए