अपडेट 
२०८० आश्विन ३०, मंगलवार ०८:२५

सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजाे पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई एक लाख २५ हजार रुपैयाँ घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

उहाँका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका– ७ मा रहेकाे बिचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार र ५५ हजार रुपैयाँको चेकसहित एक लाख २५ हजार रुपैयाँ घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेका प्रवक्ता दाहालले बताउनुभयो ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई मङ्गलवार (आज) नै आयोगको केन्द्रीय कार्यालय काठमाण्डाैमा पठाइने उहाँको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News