अपडेट 
२०८० आश्विन ३०, मंगलवार १५:२३

मुख्यमंत्री सरोजकुमार यादवले नागरिकको भरोसा टुट्न नदिन नेपाल प्रहरीसँग आग्रह गर्नुभएको छ । नागरिकको पहिलो भरोसा प्रहरी हो यो भरोसा शंकाको घेरामा आउनु हुंदैन, उहाँले भन्नुभयो । आउन नदिनुस् भनी प्रहरीहरुसंग उहाँले अपील गर्नुभयो ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आज आयोजित ६८औं प्रहरी दिवसको उपलक्ष्यमा मुख्यमंत्री यादवले सो अपील गर्नुभयो ।
प्रहरीको काम एकदम गाह्रो छ सबै विदामा रहेको बेलापनि जागिरहनु पर्दछ भन्नुहुंदै उहाँले नागरिकको सुरक्षा तथा अमन चैनका लागि घामपानी केही नभनी खटिराखेका प्रहरीको निस्वार्थ सेवालाई सलाम गर्नुभयो ।

न्याय र निष्पक्षता नै प्रहरीको मूल मंत्र हुनुपर्ने बताउंदै उहाँले गीतामा भगवान श्रीकृष्णको भनाई उल्लेखगर्दै भन्नुभयो, असल मानिसको रक्षा र दुष्टलाई दंड नै प्रहरीको आदर्श हुनुपर्छ ।

तपाईको डंडा र ओहदाले कुनै पनि निर्दोष मानिसको आत्मा कल्पिने काम नहोस् भनी प्रहरी पदाधिकारीहरुसँग आग्रह गर्दै मुख्यमंत्री यादवले भन्नुभयो, सेवा यस्तो होस् तपाईं गए पनि समाजले सम्झिराखोस् ।

देश बनाउने जिम्मा राजनीतिज्ञहरुको मात्र होइन प्रहरीको पनि हो प्रसंग उल्लेखगर्दै उहांले मधेशको सन्दर्भपनि राख्नुभयो ।  उहाँले भन्नुभयो, मधेश पनि नेपाल हो, यो कहिल्यै नबिर्सनु होला ।

सोही अवसरमा प्रदेशका गृह, संचार तथा कानुन मंत्री मोहमद समीमले राम्रो काम गर्दा आक्षेप लागेपनि कानुनसम्मत काममा खुट्टा नकमाउन प्रहरीलाई निर्देशन दिनुभयो ।

यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासको स्मरण गर्नुभयो । उहाँले विविध आरोह अवरोहका बीच कर्तव्य पथमा शहीद भएका अमर प्रहरीहरुप्रति श्रद्धांजलि एवं परिवार जनमा समवेदना व्यक्त गर्नुभयो ।
शहीद परिवार जनलाई सम्मान गरिएको सो अवसरमा प्रहरीका सन्तानहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News