
मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहलाई कार्यालय प्रवेशमा कर्मचारीहरुले रोक लगाएका छन् ।
साउन महिनादेखि बाँकी रहेको तलव, सुविधा दशैंमा समेत उपलब्ध गराउन रोक लगाएपछि आक्रोशित कर्मचारीहरुले उनलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । कर्मचारीहरुले अध्यक्षको कार्यकक्ष र क्वाटरमा समेत ताला लगाएका छन् । बृहत्तरमा कार्यरत्त २२ जना कर्मचारीमध्ये २१ जना कर्मचारी साहको बिरोधमा छन् । संघीय पर्यटन तथा संस्कृति मन्त्रालयले कर्मचारीहरुलाई तलव दिने निर्णयमा पुगिसकेको बेला अध्यक्ष साहले रोक्न लगाएको आरोप कर्मचारीहरुले लगाएका छन् ।
बृहत्तरका कर्मचारीहरुले ३ महिनादेखि तलव सुविधा पाएका छैनन् । दशैंको मुखमा तलब पाउने उनीहरुको ठूलो आशा थियो । तर अध्यक्षले नै तलब रोक्न लगाएपछि कर्मचारी क्रुद्ध भएका छन् । कर्मचारीहरुले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा अध्यक्ष शितल साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व पदाधिकारी र कर्मचारीहरुमाथि ३५ वटा मुद्दा दर्ता गराएको आरोप लगाइएको छ । जनकपुरधाममा घर भएका अध्यक्षले आवास सुविधा नपाउने नियम रहेपनि साहले नियम विपरीत यात्री निवास परिसरमा रहेको पर्यटन सूचना केन्द्रलाई हटाएर आवास बनाउँदा मासिक ८० हजारको आर्थिक क्षति बृहत्तरलाई भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कर्मचारीहरुका अनुसार साहले गैरकानुनी रुपमा तलव, सुविधा माग गरेको तर त्यो रकम सरकारले उपलब्ध नगराएको कारण कर्मचारीहरुको समेत तलव भत्ता रोक्का गराएका छन् । जानकी मन्दिरको उत्तर तर्फ तेलहा– मडहा पोखरीको पश्चिम डिलमा राखिएको डिजिटल विज्ञापन बोर्डमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको नाममा विद्युतको मिटर जोडिएको छ । तर त्यसको आम्दानी अध्यक्ष साहले उठाइरहेका छन् । बृहत्तरले विद्युतको लाइन काट्न प्राधिकरणलाई पत्राचार गरे पनि मिटरको लाइन नकाटिएको कर्मचारीहरुले जनाएका छन् । संघीय खानेपानी मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीलाई निजी प्रयोजनमा राखेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ,‘कार्यालयमा २ जना चालकलाई कामविहीन बनाएर बाहिरको चालकबाट निजी काममा गाडी प्रयोग अध्यक्ष साहले गरिरहेका छन् ।
बृहत्तर जनकपुर क्षेत्र परिसरमा निजी स्तरबाट सञ्चालित होटेलको २ लाख ५० हजारको निजी खर्चको बिल बृहत्तरबाट भुक्तानीका लागि कर्मचारीहरुमाथि दबाब दिएको आरोप विज्ञप्तिमा लगाइएको छ । बृहत्तरको अध्यक्षमा नियुक्त भएदेखि नै साहले यात्री निवासका सञ्चालकसित ६० लाख र बृहत्तरका कर्मचारीहरुसित १० लाख रुपैयाँ अनुचित माग गरेको आरोप समेत विज्ञप्तिमा लगाइएको छ ।
कर्मचारीहरुले अध्यक्ष साहमाथि कार्यालयका लागि अहित गरेको ११ वटा आरोप लगाउँदै बर्खास्त गर्न सरकारसित माग गरेका छन् । साह अध्यक्ष भएदेखि नै अनेकौं विवादमा परेका छन् । खास गरी कर्मचारीमाथि अनुचित दबाब दिएर आर्थिक हिनामिना गर्न उद्यत रहेको विज्ञप्तिमा आरोप लगाइएको छ । साहले अख्तियारमा दिएको उजुरीमा पूर्व अध्यक्षहरुले कर्मचारी समायोजनमा अनियमितता गरेको आरोप लगाएका छन् । कर्मचारीहरुका अनुसार उनले मृत्यु भइसकेका अध्यक्ष भोजराज घिमिरेमाथि समेत अख्तियारमा उजुरी दिएका छन् ।
अध्यक्ष साहले अनेक शीर्षकबाट अनुचित रुपमा रकम झिकेर माग्न थालेपछि कर्मचारीहरु कार्यालय छाड्न थालेको बताइएको छ । कार्यालयमा रहँदा अनेक प्रकारको दबाब दिने गरेकाले कार्यकारी निर्देशक र लेखापाल भाग्ने गरेको बताइएको छ । साहको अनुचित दबाबको कारण कर्मचारीहरु फस्ने डरले सशंकित बनेका छन् ।