अपडेट 
२०८० कार्तिक १५, बुधबार ०७:०९

मधेश प्रदेशको राजधानी जनकपुरधाममा कात्तिक २२ गतेबाट सुरु हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ ।

जानकी मन्दिरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा विश्वका २५ राष्ट्रका आयुर्वेदका विज्ञ, चिकित्सकको सहभागिता रहने आयोजकले जनाएको छ ।

जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा रहेको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने सम्मेलन आयोजक संस्थाका संयोजक डा. राकेशकुमार सिंहले जानकारी दिए ।

ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन तथा ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानको आयोजनामा हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, युक्रेन, इजरायल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, अष्ट्रेलिया, जर्मनीसहितका अधिकांश युरोपेली राष्ट्रहरूको सहभागिता रहने आयोजक एवं सम्मेलनका संयोजक डा. सिंहले जानकारी दिए ।

माता जानकीको हजुरबुबा निमी आयुर्वेदका आँखा, कान र घाँटीका विशेषज्ञ भएको कारणले आयुर्वेदमा निमीतन्त्रको ठूलो महत्व भएको कारणले जनकपुरधाममा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको बताउँदै तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा आयुर्वेदका विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिने जनाइएको छ । कार्यक्रममा आयुर्वेदको वर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तुसहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत् छलफल र परामर्श हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए ।

सम्मेलनले जनकपुरधामको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास उत्तराधिकारी महन्त दासको रहेको छ । पत्रकार सम्मेलनमा मनरा शिशवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेको पनि सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाको सहयोग पनि रहेको आयोजकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News