अपडेट 
२०८० कार्तिक १६, बिहीबार ०७:१९

बारा जिल्लाको कलैयास्थित बाल एकता बोर्डिंग स्कुलका सञ्चालक रुपेश सर्राफ (स्वर्णकार) को हत्याको कारण र त्यसमा संलग्नताको विषयमा प्रहरीले मिथ्या सार्वजनिक गरेको पीडित परिवारले आरोप लगाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १ जना महिलासहित ५ जनालाई सार्वजनिक गरेको छ ।

त्यस क्रममा बरामद भएको मोटरसाइकल पनि प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सर्राफ हत्याको कारण महिलासित अबैध सम्बन्ध रहेको छ । तर शोकाकुल परिवारको तर्फबाट मृतकका आफन्त सुमोद कुमार सर्राफले बुधबार जारी गरेको विज्ञप्तिमा प्रहरीले केही महिना पूर्व बारा जिल्लाको पचरौतामा भएको हत्यामा संलग्न व्यक्ति र मोटरसाइकललाई सर्राफको हत्यासित जोडेर घटनालाई नै अन्यत्र मोड्ने प्रयास गरेको आरोप लगाइएको छ ।

दिनदहाडै भएको हत्याको कारण सृजित हुनसक्ने अवस्था तथा सुरक्षा चुनौतीलाई थेग्न नसक्ने अवस्थाबाट मुक्ति पाउन प्रहरीले मुद्दालाई अन्यत्र मोड्ने प्रयास गरेको विज्ञप्तिमा आरोप लगाइएको छ । ‘बिना प्रमाण मृतकको चरित्र हत्या गरिएको छ ’ विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई लाशको खेल गरे सबै कुरा सार्वजनिक गर्छु भनेर दाहसंस्कार गर्न दबाब दिएको तर जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चित्त बुझ्दो जवाफ दिन सकेको छैन् ।’

सुमोद कुमार सर्राफद्वारा हस्ताक्षर ८ बुंदे विज्ञप्तिमा घाइतेलाई अस्पताल पु¥याउने विद्यालयका कर्मचारी रियाज अंसारी र घटनास्थलमा हुँदै नभएका विद्यालयकै अर्का कर्मचारी जमिल अख्तर अंसारीलाई बिना प्रमाण सहयोगीको आरोप लगाएर फसाउन खोजेको उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रहरीले शान्तिसुरक्षा कायम गर्न नसकेको आरोपबाट उम्कन आमजनताका आँखामा भ्रम छर्न खोजेको आरोप लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको अभिव्यक्तिमासमेत भिन्नता रहेको औल्याउँदै विज्ञप्तिमा भनिएको छ , जिल्ला प्रहरी कार्यालयले दोषीहरुको दोषलाई उजागर गर्न सकेको छैन् । तर बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनाको अनुसन्धान जारी रहेको बताउँदै प्रमाण र तथ्यहरु अझै संकलन भइरहेको बताए ।

‘अनुसन्धानको क्रम जारी रहेकाले कतिपय तथ्यहरु पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छैन्,’ उनले भने, पीडित परिवारको कथनप्रति हाम्रो दुखेसो छैन् । कुनै प्रकारको दबाब र प्रभावमा नपरी स्वतन्त्र रुपमा अनुसन्धान भइरहेको उनले दाबी गरे । सर्राफको सोमबार दिउँसै हत्या गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News