अपडेट 
२०८० कार्तिक १६, बिहीबार १५:२०

धनुषाको कमला नगरपालिकामा रहेको सामुदायिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १४ वर्षीया सरिता यादवलाई मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाइएको छ ।

बिहीबार उनलाई एक घण्टाको लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले आफ्नो पद हस्तान्तरण गरेका छन् । प्लान इन्टरनेशनलको गल्र्स टेक अभर कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश संगको समन्वयमा उनलाई मन्त्री सिंहले आफ्नो पद हस्तान्तरण गरेका छन् ।

सो क्रममा यादवलाई स्थास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी, कार्यविधी, कार्यक्षेत्रलगायतका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा धनुषाका विभिन्न पालिकाहरुकाबाट आएका सामुदायिक विद्यालयका छात्राहरुले आफ्ना गाउँ समाजमा विद्यमान स्वास्थ्या सम्बन्धी समस्याहरु बारे ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै, मन्त्री सिंहले उपस्थित छात्राहरुको गुनासोको आफ्नो मन्त्रालयमार्फतबाट स्थानीय तहसंग समन्वय गरी छिटो भन्दा छिटो समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मधेश प्रदेशको स्वास्थ्यमा आमूल परिवर्तनको अनुभूति मधेशका जनताले माघ पछि गर्ने गरि मन्त्रालयले काम गरिरहेको बताए ।

मन्त्री सिंहले प्रदेश सरकार बालिका तथा किशोरीको स्वास्थ्य प्रति गम्भीर रहेको बताउँदै प्रदेशका सबै वडामा नर्स सहितको स्वास्थ्य चौकी स्थापना गर्ने अभियान तीव्र गतिमा अगाडी बढाएको बताउँदै ती स्वास्थ्य चौकीमा किशोरीलाई आवश्यक पर्ने सबै प्रकारको स्वास्थ्य सेवा उपलब्ध रहने जानकारी दिए ।

स्वास्थ्यमन्त्री सिंहले महिलाको लागि निःशुल्क पाठे घरको शल्यक्रिया शिविर प्रदेश भरि नै सञ्चालन हुने बताउँदै किशोरीलाई पाठे घरमा लाग्ने क्यान्सर रोगको रोकथामका लागि एच पी भि खोप सबै किशोरीलाई दिने पक्षमा रहेको बताउनु भयो ।

उनले प्रदेश सरकार प्रदेशमा रहेका सबै जिल्लाको प्रादेशिक अस्पतालहरूलाई १ सय बेड तथा जनकपुरधामको प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा घोषणा गरेर भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडी बढाएको बताउनु भयो । माघ पछि मधेशका जनताले विशेषज्ञ सेवा पाउन अन्यत्र जाने बाध्यताको अन्त्य हुने मन्त्री सिंहले बताउनु भयो ।

कार्यक्रममा प्लान ईन्टरनेशन नेपालका जनकपुरधामस्थित कार्यालयका क्षेत्रिय प्रबन्धक रविशंकर पण्डितले प्लान ईन्टरनेशनलले विश्व व्यापी रुपमा विश्वका ७५ देशमा समान शक्ति, समान स्वतन्त्रता तथा समान प्रतिनिधित्वको मान्यता अनुसार वालिका तथा किशोरीको मनोबल बढाउन पद हस्तान्तरण अभियान चलाइरहेको जानकारी दिए ।

प्लान ईन्टरनेशनल नेपालका कोर्डिनेटर अञ्जु शाक्यले नेपालमा प्लान ईन्टरनेशन नेपालले ४५ वर्ष देखि काम गरेको बताउँदै मधेश प्रदेशमा पनि अढाई वर्ष देखि काम गरेको बताउँदै विकास सँगै वालिका, किशोरी तथा महिला सशक्तीकरण अभियान गरिरहेको बताउनु भयो ।

Comment


Related News