
नगरपालिकाको मोटरसाइकल चोरी गरी भारतीय नम्बर प्लेट राखी चलाउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकलसहित पक्राउ परेकाहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । जिल्लाको फतुवाबिजयपुर नगरपालिकाको ना १ ब ३७९० नम्बरको मोटरसाइकल गएको असोज २९ गते चोरी भएको थियो । गौर नगरपालिका–१ कृष्ण मन्दिरस्थित राज प्रिन्टिङ प्रेस अगाडि पार्किङ गरिराखेको अवस्थामा मोटरसाइकल चोरी गरेको आरोपमा गौर नगरपालिका–५ का नन्दलाल यादव, शिवमकुमार गुप्ता र ईशनाथ नगरपालिका–२ का दिलीप साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए । ‘हामी अनुसन्धान गर्दै छौं । अरु पनि सवारी चोरीको घटनामा संलग्न हुन सक्छ,’ उनले भने, ‘सरकारी मोटरसाइकलमा भारतीय नम्बर प्लेट राखेर चलाइएको फेला पारेका हौं ।’ तीनै जनालाई कात्तिक १४ गते पक्राउ गरेको हो ।
अदालतबाट म्याद थपेपछि मात्रै प्रहरीले सार्वजनिक गरेको छ । नगरपालिकाले चोरी भएको मोटरसाइकल खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय गौरमा लिखित निवेदन दिएको थियो । मोटरसाइकलमा बिआर ३० क्यु ४८६८ भारतीय नम्बर राखेर प्रयोग गर्दै आएका थिए । तीनै जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।