
प्रेम प्रसंगको विषयलाई लिएर एक युवाको हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।
कारागार चलान हुनेहरुमा सप्तरीको खडक नगरपालिका ११ बनौलीकी ३० वर्षीया वीणा देवी यादव, ३४ वर्षीय राम प्रकाश यादव, ३६ वर्षीय डम्बर नारायण साह र ४० वर्षीय छोटे लाल भन्ने धर्म देव साह छन । न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले उनीहरु विरुद्ध परेको मुद्दामा थुनछेक बहस पछि बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । घटनाको विवरण अनुसार मेला हेर्न गत भदौ २१ गते घरबाट निस्केका सोही वडाका १८ वर्षीय अजिमुद्धिन बेपत्ता भएका थिए । परिवार तथा प्रहरीले खोजी कार्य तीव्र बनाएका बेला बेपत्ता भएको २१ दिन पछि १२ असोजमा हत्या गरी बोरामा राखेर फालेको अवस्थामा उनको सडेगलेको शव स्थानीय राम प्रसाद यादवले सञ्चालन गर्दै आएको कृषि फर्मको पोखरीबाट प्रहरीले फेला पारेको थियो ।
अनुसन्धानका क्रममा एक बालिकासंग भएको प्रेम सम्बन्धकै कारण अजिमुद्धिनको हत्या भएको तथा सो घटनामा ती चार जनाको संलग्नता रहेको खुलासा भएको थियो । कारागार चलान हुनेमध्ये एक जना मृतकको प्रेम सम्बन्धमा रहेकी बालिकाकी आमा र अर्को काका रहेको प्रहरीको भनाइ छ । स्थानीय हिरा फेकनी माध्यमिक विद्यालय बनौलीबाट यसै वर्ष एसइइ परीक्षा दिएका अजिमुद्धिनको सोही विद्यालयमा कक्षा ८ मा पढने एक बालिकासंग गहिरो प्रेम परेको र सोही प्रेम उनको हत्याको कारण बनेको प्रहरी अनुसन्धानमा खुलेको छ ।\