अपडेट 
२०८० कार्तिक १८, शनिबार ०८:३७

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति (भीसी) नियुक्ति गर्ने तयारी सरकारले थालेको छ ।

उपकुलपति डा.रामकेवल साहको देहान्तपछि प्रतिष्ठान भीसीविहीन छ । डा.साहको निधन भएको झण्डै ३ महिना भइसकेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले भीसीका लागि गरेको विज्ञापनको तिथि सकिएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ९ जना चिकित्सकले भीसीका लागि आवेदन दिएका छन् । आवेदन दिनेहरुमा जनता समाजवादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका सम्धी डा.विश्वनाथ यादव पनि रहेका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल रेक्टर रहेका डा.अंकुर साह पनि भीसीका लागि आवेदन दिएका छन् ।

डा.रोहित यादव, डा.रमेश सिंह, डा.सुधिर सिंह लगायतले पनि भीसीका लागि प्रयास गरिरहेका छन् । डा.साहको निधनपछि भीसी नियुक्तिका लागि विज्ञापन भएदेखि नै ‘सेंटिंग’ हुने चर्चा चलेको छ । भीसीको दौडमा रहेका डा.विश्वनाथ यादव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फरेन्सिक विभागका प्रमुख हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवका आफ्नै सम्धी रहे पनि उनी भीसी नहुने निश्चित नै छ । करोडौ आर्थिक चलखेल भइरहेको अवस्थामा अध्यक्ष यादवका सम्धी डा.यादव प्राथमिकतामा पर्ने सम्भावना अत्यन्त कमजोर रहेको छ ।

स्रोतहरुका अनुसार जसपा अध्यक्ष यादवका एकमात्र उत्तराधिकारी पुत्र अमरेन्द्र यादवले नै आफ्नो ससुरा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न नसक्ने धारणा व्यक्त गर्न थालेका छन् । जनकपुरधामको अवस्था फरक रहेकाले आफ्नो ससुरा सो पदका लागि उपयुक्त हुननसक्ने केही स्थानमा बोलेको बताइएको छ । भीसीको दौडमा वर्तमान रेक्टर डा.अंकुर साह पक्का जस्तै छन् । उनको पक्षमा वातावरण बनाउने गिरोहले काम गरिसकेको बताइएको छ ।

डा.अंकुर साहले आफ्ना प्रतिद्वन्दीहरुलाई धेरै पछाडि छाडेको बताइन्छ । डा.साहलाई भीसी बनाउन निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा हालीमुहाली चलाउने केही व्यक्ति सक्रिय भएका छन् । फरक ध्रुवमा रहेको बाहिर देखिए पनि उनीहरुले मोटो कमिसन आउने नियुक्ति र सप्लाइको काममा एकजुट भएर लाग्ने गरेका छन् ।

मधेश प्रदेशमा हालसम्म भएका राजनीतिक नियुक्तिहरुमध्ये केही कामै नलाग्ने र केही लेनदेनको आधारमा भएको आरोप लाग्दै आएको छ । प्रतिष्ठानमा भीसीको अनुपस्थिति भएको झण्डै वर्ष दिन भइसक्यो । तर लेनदेनको विषय नमिलेको कारण भीसी नियुक्ति लम्बिएको बताइन्छ । मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.प्रमोद यादवका अनुसार भीसीका लागि परेका आवेदनहरुलाई सूचीकृत गर्न समितिले चाँडै काम थाल्ने छ । ‘सर्ट लिस्ट बनाएर त्यसको प्रक्रियालाई अगाडि बढाइने छ’ सचिव डा.यादवले भने, भीसी नियुक्तिका लागि मन्त्रालयले नामहरु सिफारिस गर्ने छ ।

भीसी नियुक्तिका लागि कुलपति समेत रहनु भएका मुख्यमन्त्री सरोज कुमार यादवले अन्तिम निर्णय लिनुहुने उनले बताए । भीसीको नियुक्ति बढीमा ४ वर्षका लागि हुने कानुनी व्यवस्था रहेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा प्रादेशिक अस्पताल राखिएको छ । त्यस सम्बन्धमा अस्पतालका कर्मचारीहरु असन्तुष्ट रहे पनि सरकारले अस्पताललाई अलग गर्ने निर्णयबाट पछाडि हटिसकेको छ ।

Comment


Related News

Latest News

Trending News