अपडेट 
२०८० कार्तिक १९, आईतवार ०८:४१

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले प्रदेश प्रहरी र प्रदेश निजामती कर्मचारी ऐन कार्यान्वयनका लागि संघीय सरकारविरुद्ध माइतीघरमा धर्नामा बस्ने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले शनिबार जिल्लाको देवाही गोनाहीमा आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश प्रहरी र कर्मचारी समायोजनको लागि दबाब दिन प्रदेशका १०७ सदस्य सहित धर्ना दिने बताए ।

नेपालको संविधान २०७२ ले प्रदेशको छुट्टै कानुन, कर्मचारी, प्रहरी हुने व्यवस्था गरे पनि संघीय सरकारले हालसम्म कार्यान्वयन नगरेकाले कार्यान्वयन गराउन मन्त्री र सांसदसहित कार्तिक २२ गतेपछि माइतीघरमा धर्ना दिने बताए । मधेश प्रदेश सरकार भ्रष्टाचारमा डुबेको भनी लाग्दै आएको आरोप गलत रहेको भन्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको प्रहरी र कर्मचारी नरहेको खण्डमा कसरी भ्रस्टाचार गर्छ भनी प्रश्न गरे । मधेश आन्दोलनको बलमा आएको संघीयता खारेज गर्न भइरहेको षडयन्त्रलाई मधेश प्रदेश सरकारले सफल हुन नदिने उनले प्रष्ट पारे ।

मधेश प्रदेश सरकारको आफ्नो प्रहरी प्रसाशन र कर्मचारी पाएपछि कसैले घुस लिने हिम्मत नगर्ने उनले दाबी गरे । केपी ओली, शेर बहादुर देउवा तथा पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने पनि कसैले पनि प्रदेशको अधिकार दिने कार्य नगरेको आरोप समेत मुख्यमन्त्री यादवले लगाए । उनले गौर राइस मिलको जग्गा प्रदेश सरकारको नाउँमा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाउन रौतहटका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दा पनि कुनै वास्ता नगरी अहिलेसम्म केही जवाफ समेत नफर्काएको जानकारी दिए ।

जग्गा अधिग्रहणका लागि १५ करोड रकम विनियोजन गरिएको र खेलकुदको लागि स्टेडियम निर्माण गर्न रकम छुट्याइएको मुख्यमन्त्री यादवले जनाए । संघीय सरकारको कर्मचारीका कारण प्रदेश सरकारको प्रशासनिक तथा कानुनी कार्यसमेत बाधित हुने गरेको उल्लेख गर्दै उनले प्रदेश सरकारको आफ्नो कर्मचारी भएपछि विकासको लहर नै आउने दाबी गरे ।

अधिकारका लागि आन्दोलन जरुरी रहेको छ भने विकासका लागि मतको आवश्यकता हुँदा बहुमतको सरकार नभएकाले काम गर्न कठिनाइको सामना गरिरहनु परेको मुख्यमन्त्री यादवले बताउँदै आगामी निर्वाचनमा जसपा नेपालको पूर्ण बहुमतको सरकार बनाउनका लागि मतदान गर्न सबैलाई आग्रह गरे।

Comment


Related News

Latest News

Trending News