
महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारामा राति एक घरमा चोरी भएको छ ।
आइतबार राति रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा चार/पाँच जनाको समूहमा आएका व्यक्तिले चोरी गरेको छ । लुटेरा समूहको प्रतिकारमा उत्रँदा घरका चार जना घाइतेसमेत भएका छन् ।
लुटेराको समूह घरभित्र प्रवेश गरी घरका सदस्यहरुलाई कुटपिट र बन्धक बनाई लाखौंको धनमाल लुटेका छन् ।भुवनेश्वर चौधरीका छोरा जय किशोर चौधरीका अनुसार राति करिब १२ः३० बजे चार/पाँच जनाको समूहमा आएका लुटेराले घरका सबै सदस्यलाई नियन्त्रणमा लिँदै कुटपिट गरेको थिए भने घरबाट लाखौंको धनमाल लुटेर लगेका छन् ।
लुटेरा समूहको कुटपिटबाट आफूसहित बुबा भुवनेश्वर चौधरी, आमा शैल देवी, श्रीमती सीमा चौधरी घाइते भएको छोरा जय किशोरले जानकारी दिए । लुटेरा समूहले नगद एक लाख, ४० तोला सुन, दुई किलो चाँदी, आइफोनसहित गरी ७० लाखभन्दा बढी लुटपाट गरेर लगेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लुटेराको समूह घर भित्र प्रवेश गरेर घरका सदस्यहरुलाई नियन्त्रणमा लिँदै लाखौं रकम लुटेर लगेको सूचना प्राप्त भएको जानकारी दिए । प्रवक्ता गिरीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
घाइतेहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारपछि घर फर्किसकेको प्रवक्ता गिरीले बताए।