अपडेट 
२०८० कार्तिक २२, बुधबार ०७:४७

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद आफताब आलमको मुद्दामा जिल्ला अदालत गौरमा मंगलबारदेखि सुनुवाई सुरू भएको छ ।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा भएको बम फिस्फोटको घटनामा संलग्न भएको आरोपमा दायर भएको बम विस्फोट तथा कर्तव्य ज्यान मुद्दामा थुनामा बन्दी जीवन बिताइ रहेका आलमको मुद्दाको रौतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा बहस शुरू भएको छ ।

निर्वाचनमा बुथ कब्जा गर्ने उद्देश्यले राजपुर फरहदवामा बनाइ रहेको बम विस्फोट हुँदा रौतहट जिल्लाको सरुअठाका त्रिलोक प्रताप सिंह भनिने चिंटू सिंहसहित २ जनाको मृत्यु भएकोमा मृतक सिंहका बुवा श्रीनारायण सिंहले दिएको जाहेरीको आधारमा सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिँदा पूर्व मन्त्री आलमलाई प्रहरीले २०७६ साल आसोज २६ गते पक्राउ गरेको थियो ।

अनुसन्धानपछि अभियोगसहित पेश गरिएको आलमलाई जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिँदा आलमसहित ३ जना कारागारमा रहेका छन् । पूर्व सांसदसमेत रहेका आलमसहित आलमका भाई मोहम्मद महताब आलम र शेख सेराज कारागारमा रहेका छन् भने अन्य आरोपि धरौटीमा रहेका छन् । ११ जनामाथि रहेको उक्त मुद्दामा मंगलबार बहस नसकिएकोले निरन्तर सुनुवाई प्रक्रियामा राखिएको रौतहट जिल्ला अदालतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News