अपडेट 
२०८० कार्तिक २२, बुधबार ०८:२९

रौतहटको एक हस्पिटलमा चिकित्सकको लापरबाहीका कारण एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको गरुडा नगरपालिका–८ विर्तामा सञ्चालित इमरजेन्सी जन सेवा हस्पिटलमा पाठेघर (बच्चादानी) को अप्रेशन गराउन गएकी चन्द्रपुर नगरपालिका–७ बनबौहरिका इब्राहिम सिद्धिकीका ३० वर्षीया श्रीमती नुर्जहान खातुनको अप्रेशन गर्ने क्रममै मृत्यु भएको छ ।

अप्रेशनमा चिकित्सकले चरम लापरबाही गरेका कारण बिरामी खातुनको मृत्यु भएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् । एक्कासी पाठेघरमा समस्या आएपछि अप्रेशन गराउन खातुनलाई जन सेवा हस्पिटल ल्याइएको थियो ।

मृतक महिलाका श्रीमान इब्राहिम सिद्धिकीका अनुसार खातुनलाई सोमबार राति ८ बजेको समयमा चिकित्सकले अप्रेशन गर्न लगेका थिए । तर अप्रेशनमा चिकित्सकले चरम लापरबाही गरेका कारण श्रीमतीको मृत्यु भएको उनले आरोप लगाए । खातुनको राति २ बजे नै मृत्यु भइसकेको भए पनि चिकित्सकले बिरामीलाई यहाँ ठिक हुँदैन आइसीयूमा राख्नुपर्छ भनी करिब ३ बजेको समयमा वीरगञ्जको मेट्रोसिटी हस्पिटलको लागि रेफर गरेको उनले बताए ।

श्रीमतीको जन सेवा हस्पिटलमा नै मृत्यु भइसकेको कुरा हस्पिटलका चिकित्सकलाई राम्ररी थाहा भएको बताउँदै मृतकका श्रीमान सिद्धिकीले खातुनको मृत्यु भएको कुरा लुकाउन उनीहरुले अन्यत्र रेफरको बहाना गरेको उनले आरोप लगाएका छन् । खातुनलाई वीरगञ्जको मेट्रोसिटी हस्पिटल लग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

अप्रेशन गर्न योग्य नै नरहेको चिकित्सकले जबर्जस्ती अप्रेशन गर्न खोज्दा खातुनको मृत्यु भएको उनको आरोप छ । उपचारमा संलग्न चिकित्सकको सर्टिफिकेट, एनएमसी नम्बर इत्यादि कागजात चेकजाँच गर्नुपर्ने र अप्रेशन गर्न अनुमति प्राप्त नगरेको ठहर भए हदैसम्मको कारबाही गर्नुपर्ने पीडित पक्षको माग छ ।

उपचारमा चिकित्सकले सावधानी नअपनाएको र गम्भीर लापरबाही गर्दा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले मंगलबार बिहान जन सेवा हस्पिटल घेराउ गरी विरोध प्रदर्शन गरेका छन् । दोषी चिकित्सक र हस्पिटल सञ्चालकलाई पक्राउ गरी उनीहरुमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग गर्दै मृतकका आफन्तहरुले शव राखेर मंगलबार बिहान हस्पिटल अगाडि प्रदर्शन गरेका थिए ।

प्रहरीले दोषी हस्पिटल सञ्चालक र चिकित्सकलाई कानुनी कारबाही गर्ने सहमति जनाएपछि पीडित परिवारले शव उठाएका थिए । यता बिरामी खातुनको मृत्यु भएपछि इमरजेन्सी जन सेवा हस्पिटलका सञ्चालक जिंगडियाका राजेन्द्र महतो र चिकित्सकहरुले मंगलबार बिहानदेखि हस्पिटल बन्द गरेर फरार भएका छन् ।

फरार भएका सञ्चालक महतो र चिकित्सकको खोजी कार्य भइरहेको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News