अपडेट 
२०८० कार्तिक २२, बुधबार १६:१३

प्रहरी समायोजन गर्नका लागि दबाब दिन मधेश प्रदेश सरकारले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ ।

जनकपुरधामस्थित मधेश भवनमा प्रदेश सरकारले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी गराइएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाउने बताए । उनले एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘यसअघि पनि संघीय सरकारलाई पटक पटक प्रदेश सरकारले दबाब दिएको छ । तर यो पटक आरपारको आन्दोलन गर्छौं ।’

आन्दोलन कस्तो हुन्छ भन्ने जिज्ञासामा मुख्यमन्त्री यादवले भने, ‘संघीय राजधानी र जनकपुरमा मात्रै होइन्, गाउँ गाउँमा आन्दोलन हुन्छ ।’ उनले निजामती ऐन र प्रहरी समायोजनका लागि प्रतिपक्षी दलको पनि साथ रहेको बताए ।

आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक्ता अनुसार काम गर्न नसकेको मुख्यमन्त्री यादवको भनाई छ ।

Comment


Related News

Latest News

Trending News