अपडेट 
२०८० कार्तिक २३, बिहीबार ०६:४५

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवकै गृह जिल्लामा पार्टी भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

अध्यक्ष यादव गत प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्वर २ मा विवादकै कारण पराजित भएका थिए । सोही क्षेत्रबाट प्रदेश सभामा जसपाका नेतृ रेणु यादवकी छोरा अभिषेक यादव पनि पराजित भएका थिए । सप्तरीमा जसपाका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले बुधबारको कार्यकर्ता भेला रोक्न सूचना जारी गरेका थिए, त्यस विपरीत बुधबार जिल्ला कार्य समितिकै ब्यानर राखेर जिल्ला स्तरिय कार्यकर्ता भेलाको आयोजना गरेपछि विवाद उत्कर्षमा पुगेको छ ।

सो भेलामा जिल्ला समितिका उपाध्यक्ष उमेश प्रसाद यादवको अध्यक्षतामा बुधबार नै ५७ सदस्यीय समानान्तर जिल्ला कार्य समिति गठन गरेपछि विवाद सतहमा पुगेको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित भेलामा जिल्ला, प्रदेश र केन्द्रसम्मका नेता सहभागी भए । असन्तुष्ट पक्षको भेलामा गत स्थानीय तहको निर्वाचनमा जसपाका तर्फबाट नगर प्रमुख तथा गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका १८ मध्ये १३ पालिका उम्मेदवार पनि सहभागी थिए ।

सिरहाको लहानमा मधेश प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालनमा रहे पनि जसपाका नेतृ रेणु यादव, मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र साहको विशेष उपस्थितिमा सो समानान्तर समिति गठन गरिएको छ । जिल्ला अध्यक्ष केदार यादवले असन्तुष्ट पक्षलाई भेला नगर्न तथा उक्त भेला अवैधानिक र केही व्यक्तिको स्वार्थपूर्तिका लागि हुन लागेको भन्दै स्थानीय नेता तथा कार्यकर्तालाई सहभागी नहुन सूचना नै जारी गरे पनि उक्त सूचनाको बेवास्ता गर्दै ठूलो संख्यामा जसपाका नेता तथा कार्यकर्ता सहभागी भए ।

जसपाकी राजनीतिक कार्यसमिति सदस्य एवं पूर्वमन्त्री रेणु यादवले पार्टी भित्र आन्तरिक प्रजातन्त्र कायम गर्न तथा पार्टीको खस्किदै गएको साखलाई जोगाउन आफूहरु विद्रोहमा उत्रेको बताइन् । आफूहरुको विद्रोह नेतृत्वमा देखिएको तानाशाही प्रवृत्ति तथा पार्टीलाई जीवन्तता प्रदान गर्नका लागि भएको उनको भनाइ छ । उनले जिल्लादेखि केन्द्रसम्म नेतृत्व गर्नेहरुले लोकतान्त्रिक विधि त्यागेर मनोमानी र एकलौटी ढंगले हिड्दा पार्टीको जनाधार कमजोर बन्दै गएको तथा कार्यकर्ता र समर्थकमा नैराश्यता बढ्दै गएको बताइन् । पार्टीमा आमूल परिवर्तनको आवश्यकता औल्याउँदै उनले यसका लागि अब नयाँ ढंगले अघि बढ्ने उदघोष गरिन् ।

पार्टी भित्रकै आन्तरिक कलहका कारण अध्यक्ष यादव प्रतिनिधिसभा, रेणुका छोरा अभिषेक प्रदेश सभा र पूर्व अर्थमन्त्री शैलेन्द्र साहसमेतले पराजय भोग्नु परेको थियो । जसपामा यस भन्दा पहिला पर्सामा पूर्व मन्त्री प्रदीप यादवको अगुवाईमा समानान्तर समिति गठन गरिएको छ भने जनकपुरधाम नगर समितिमासमेत दुई÷दुई समिति गठन गरिएको छ । समानान्तर समितिले पार्टी भित्र असन्तुष्टि बढ्नु र यसले पार्टीमा कलह उत्पन्न हुने राजनीतिक विश्लेषकहरुको भनाइ छ । उनीहरु भन्छन्–‘ पार्टी भित्र समानान्तर समिति गठन हुनु भनेको पार्टी भित्र विद्रोहको विगुल बुझ्नुपर्छ ।’ ‘सबै पार्टी भित्र मनमुटाव हुन्छ त्यसको मतलव यो हुँदैन् समानान्तर समिति गठन गर्नुपर्छ’ पार्टीको विधान हुन्छ र निर्वाचन सम्बन्धी कानुन बनाइएको हुन्छ जसपाका एक नेताले भने–‘निर्वाचन प्रक्रियालाई लत्याउनु भनेको पार्टीलाई लत्याउनु बाहेक अरु केही पनि होइन् ।

पार्टीको विधानले निर्धारण गरेको निर्वाचन सम्बन्धी व्यवस्था अनुसार नै पार्टी चल्ने हो, समानान्तर समिति बनाएर तत्कालका लागि बिद्रोह गरेको जस्तो लागे पनि जसपा समानान्तर समिति बनाएर टुटफुट नहुने विगतको अनुभव आफूहरुसंग रहेको जसपाका एक नेताले बताए । पार्टीका प्रवक्ता मनिष सुमनले जताततै गठन भइरहेको समानान्तर समिति स्थानीय स्तरको असन्तुष्टिको उपज रहेको प्रतिक्रिया दिएका छन् । उनले जस्तोसुकै समिति गठन गरे त्यो वैध नहुने बताए ।

उनले यस विषयलाई छिट्टै समाधान गर्ने बताए । पार्टी अध्यक्षलाई यस समितिहरुको बारेमा जानकारी नरहेको र यससंग जोडन नहुने बताउँदै प्रवक्ता सुमनले भने–‘रेणु यादवजीले शक्ति प्रदर्शन गर्नुभएको छ यसलाई हामीले छिट्टै समाधान गर्छौं ।’ यस भन्दा पहिला पनि रेणु यादवले पार्टी भित्र विद्रोहको संकेतहरु गरेकी थिइन् । उनलाई मन्त्री नबनाउँदा विद्रोहको संकेत गरेपछि मन्त्री बनाइएको थियो भने गत प्रदेशसभाको निर्वाचनमा छोरा अभिषेकलाई टिकट नदिने छाँटकाँट देखिएपछि विद्रोहको संकेत गरेकी थिइन् ।

अहिले फेरि विद्राहेमा उत्रिन थालेकी रेणुलाई उपेन्द्रले छिट्टै छिनोफानो गर्ने पार्टी जानकारहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News