
जनकपुरधाममा बुधबारदेखि अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै स्वामी आनन्द अरुणले विश्वमा देखापरेका जटिल स्वास्थ्य समस्या समाधानमा आयुर्वेद चिकित्सा पद्धति सहयोगीसिद्ध हुनसक्ने भन्दै यसको प्रवद्र्धनका लागि सबैले ध्यानदिनुपर्नेमा जोड दिए । नेपाल वैदिक सनातन धर्म परम्पराको देशमात्रै नभएर आयुर्वेदकोसमेत पवित्र भूमि रहेको भन्दै उनले यहाँको परम्परागत चिकित्सा, बहुमूल्य जडीबुटीहरुको उचित प्रयोग हुनसके नेपाल र सिङ्गो मानवजगत लाभान्वित हुनसक्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाउनुभएको शुभकामना सन्देश मरिससबाट आउनुभएका डा. ज्ञानेश्वर सिंहले वाचन गरेका थिए । सन्देशमा प्रधानमन्त्रीले आयुर्वेद परम्परादेखि दिमाग, शरीर र आत्माबीचको सन्तुलन कायम गर्नका लागि परापूर्वकालदेखि नै महत्वपूर्ण माध्यम बनिरहेको भन्दै विश्व मानवकल्याणका लागि आदिम आयुर्वेद परम्पराको संरक्षण, त्यसको समयसापेक्ष गुणस्तरीय विकास तथा नियमन जरुरी रहेको बताएका छन् । विश्वका १७ देशबाट आएका आयुर्वेदका जानकारसहित करिब छ सय जना सहभागी रहेको सम्मेलनमा आधुनिक चिकित्सा प्रणालीमा आयुर्वेदको महत्व, आयुर्विज्ञानका क्षेत्रमा भएका अध्ययन, अनुसन्धानबारे छलफल हुने बताइएको छ ।
सम्मेलनमा पूर्व स्वास्थ्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले आयुर्वेदको सम्भावना नेपालमा व्यापक भएकाले यस्ता प्रकारको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनले आयुर्वेदको विकास तथा विस्तारमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गरे । सम्मेलन आयोजक संस्थाका संयोजक डा. राकेश कुमार सिंहले सम्मेलनमा आयुर्वेदका पुराना ८ उपचार विधि तथा नयाँ १४ वटा उपचार पद्धतिका विषयमा तीन दिनसम्म विज्ञहरूकाबीचमा संवाद, बहस, शोधपत्रको प्रस्तुति हुने बताए ।
ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानका अध्यक्ष दिनेश सिंहको अध्यक्षतामा भएको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, दक्षिण कोरिया, अमेरिका, फ्रान्स, रसिया, माल्दीभ्स, मोरिसस, अष्ट्रेलिया सहितका १७ देशको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव, भारतका प्राध्यापक पि के प्रजापति, प्राध्यापक हरिशंकर शर्मा सहितको सहभागिता रहेको थियो । ब्रम्हभूमि हेल्थ रिसर्च सेन्टर, नेपाल आरोग्य सङ्गठन, ब्रम्हभूमि आयुर्विज्ञान अनुसन्धान संस्थानले संयुक्तरुपमा सम्मेलन आयोजना गरेको छ ।