अपडेट 
२०८० कार्तिक २४, शुक्रबार ०८:०९

मुलुक भर चिनीको हाहाकार रहेको बेला मधेश प्रदेशमा भने चिनी पर्याप्त मात्रामा पाइएको छ । सर्वसाधारणलाई चिनीको समस्या छैन् ।

मधेश प्रदेशका सबै जिल्लाको सीमा भारतीय बजारमा जोडिएका कारण यहाँका सर्वसाधारण सीमावर्ती बजारबाट किनमेल गर्ने गर्छन । त्यसले गर्दा पनि चिनीको त्यति बढी समस्या पाइएको छैन् । मधेश प्रदेशमा मात्रै १४ वटा चिनी उद्योग छ तर सबै पूर्ण रुपमा सञ्चालनमा नरहेका कारण अन्य प्रदेशहरुमा चिनीको समस्या भएको छ ।

सरकारको नीतिले यहाँको चिनी उद्योगहरु फ्स्टयाउन नसकेको व्यापारीहरुको गुनासो छ । १४ वटा चिनी मिल पूर्ण रुपमा सञ्चालनमा आएपछि मुलुकलाई धान्न सक्ने स्थितिमा आउन सक्छ । चिनी मिलका सञ्चालक र किसानबीचमा देखिएका तिक्कताका कारण पनि चिनी उत्पादनमा समस्या देखिएको छ । किसानहरुलाई वर्षौसम्म भुक्तानी नगर्नु, खुल्ला सीमाबाट चिनी आयात नरोकिनुलगायतका समस्याले मधेश प्रदेशका कारखानाहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

मधेश प्रदेशमा रहेका कारखानाहरु मात्रै पूर्ण रुपमा सञ्चालन गरियो भने चिनीमा परनिर्भरता रहनु नपर्ने जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन् । जनकपुरधामको बजारमा चिनीको समस्या छैन् अलिकता महँगो भएको उनी स्वीकार गर्छन् । जनकपुरधाममा किराना पसलहरुमा चिनी ९० देखि ९५ रुपैयाँसम्म बिक्री हुने गरेको अध्यक्ष महासेठले जानकारी दिए ।

वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल पनि चिनीको समस्या नरहेको बताउँछन् । बजारमा चिनी पर्याप्त रहेको उनी बताउँछन् । बजारका उद्योगी व्यापारीहरु समस्यामा रहेको छ, बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्था रहेको उनी बताउँछन् । चिनीको मूल्य वीरगञ्जमा ८० देखि ९० रुपैयाँ रहेको उनले बताए । रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले गौर मात्रै नभइ रौतहट जिल्लाका स्थानीयबासीहरु भारतीय बजार बैरगनियामा निर्भर रहेको बताए ।

व्यापार व्यवसाय धारासायी रहेको बताउँदै अध्यक्ष जयसवालले सरकार प्रमुख दोषी रहेको आरोप लगाए । उनले भने–‘सरकारले किसान र कारखाना सञ्चालकहरुबीच गर्नुपर्ने समन्वय गर्न नसकेका कारण चिनीको वर्तमान अवस्था सृजना भएको छ ।’ उखुको उत्पादन लिने समय भइसक्दा पनि न्यूनतम समर्थन मूल्य निर्धारण हुन नसक्दा किसानले चिनी उद्योगलाई उखु बेच्न पाएका छैनन् । समयमा उखुको मूल्य निर्धारण नहुँदा चिनीभन्दा गुड (सखर)का लागि उखु प्रयोग हुने गरेको छ ।

समयमै उखुको समर्थन मूल्य निर्धारण नहुँदा चिनी उत्पादनमा पनि कमी आउने देखिन्छ । ‘उखु काट्ने बित्तिकै प्रशोधनमा लगे रसिलो हुन्छ, चिनी उत्पादन बढ्छ,’ जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष महासेठले भने,–‘रस सुकेको उखुबाट उत्पादन पनि कम हुन्छ ।’ मूल्य निर्धारण नहुँदा उखु खेतमै सुक्ने गरेको कलैयाका किसान इन्द्र देव कुसवाहाले बताए । समयमै उखुको मूल्य निर्धारण भए तयार भएको उखु बेचेर गहुँ खेती गर्न सहज हुने उनको भनाइ छ । ‘ उखुको मूल्य निर्धारण नहुँदा तयार भएको उखु बेच्न सकेका छैनौँ ।’ उखुको मूल्य कार्तिक मसान्तसम्म निर्धारण गर्न माग गरेको उनले बताए । ‘मूल्य निर्धारणका लागि सरोकारवाला निकायमा आग्रह गरेका छौँ,’ कुसवाहाले भने, ‘ कार्तिक मसान्तसम्म उखुको मूल्य निर्धारण नभएमा हामी आन्दोलन गर्छौं ।’ नेपालमा पछिल्लो समय उखु खेतीको क्षेत्रफल घट्दै गएको मन्त्रालयको तथ्याङ्क देखिन्छ ।

आर्थिक वर्ष २०७६/०७७ मा साढे ६८ हजार हेक्टर क्षेत्रफल हाराहारीमा उखु खेती गरिएको थियो । यसबाट ३४ लाख मेट्रिक टन उखु उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ६४ हजार हेक्टर क्षेत्रफलमा गरिएको उखु खेतीबाट ३१ लाख ८३ हजार मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा साढे ६२ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको थियो । सोबाट ३१ लाख ५९ हजार मेट्रिक टन उखु उत्पादन भएको थियो । उखु खेतीको क्षेत्रफल बर्सेनि खुम्चिँदै जानुको मुख्य कारण किसानले उखुको भुक्तानी समयमै नपाउनु नै रहेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News