अपडेट 
२०८० कार्तिक २४, शुक्रबार ०८:३८

कर्तव्य ज्यान तथा डाँका मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा रहेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव बिहीबार अदालतको आदेशले धरौटीमा रिहा भएका छन् ।

तीन घण्टा लामो थुनछेक बहसपछि उच्च अदालत जनकपुर–राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी तथा पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले जारी गरेको आदेशानुसार सिंह धरौटीमा रिहा भएका छन् । २०६४ साल असार ९ गते माओवादी नेता गोविन्द चौधरीको हत्या घटनामा संलग्न रहेको अभियोगमा भदौ १९ गते राजविराजबाट पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुर–राजविराज इजलास पुगेका थिए । सप्तरीको प्रदेशसभा क्षेत्र नं. ४ को २ बाट स्वतन्त्र उम्मेदवार बनी निर्वाचित भएका यादवसहित ९ जना उक्त मुद्दामा आरोपित थिए । आरोपितमध्ये ८ जनाको फैसला भए पनि उनीमाथिको यो मुद्दा मुलतबिमा थियो । त्यति बेलाको आदेशमा यादवलाई पक्राउ गरी मुलतबिमा राखी अनुसन्धान गर्न उल्लेख गरिएको थियो ।

यसअघि सप्तरी जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले यादवलाई २०७१ चैत ११ गते ४ वर्षको कैद सजाय हुने फैसला गरेको थियो । मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसहित नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।

Comment


Related News

Latest News

Trending News