अपडेट 
२०८० कार्तिक २४, शुक्रबार ०८:४५

संघीय संसद्का पूर्वाधार विकास संसदीय समिति अन्तर्गत गठित संसदीय उपसमितिद्वारा सप्तरीमा सञ्चालित विकासीय परियोजनाहरूको स्थलगत निरीक्षण गरिएको छ । उपसमितिका संयोजक डा. चन्द्रकान्त राउतको नेतृत्वमा बिहीबार सप्तरीको राजविराजस्थित निर्माणाधीन बसपार्क, राजविराज हटिया, गजेन्द्र नारायण सिंह अस्पतालको निर्माणाधीन भवन , हुलाकी सडकलगायतको योजनाको अनुगमन गरी कार्यप्रगतिबारे जानकारी लिइएको छ ।

२०७७/९/२७ मा काम सम्पन्न गरेर राजविराज नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हटियाको तीन पटक म्याद थप्दा पनि हालसम्म कार्य सम्पन्न हुन सकेको छैन् । निरीक्षणको क्रममा सप्तरी क्षेत्र–२ मै रहेका जिल्लाका अधिकांश ठूलठूला योजनाहरूको अवस्था यस्तै रहेको प्रतिनिधिसभा सदस्यसमेत रहेका कार्यदलका संयोजक डा.राउतले बताए ।

निरीक्षणको क्रममा जिल्लामा गौरवका योजनाहरू यसरी लथालिङ्ग हुनुमा सरकार, योजना कार्यान्वयन गर्ने निकाय, ठेक्का कम्पनी, अनुगमनकारी निकायलगायत सम्पूर्ण पक्षको ठूलो बेवास्ता रहेको राउतले बताए । करोडौँको ठूला योजनाहरूको काम हुने ठाउँमा योजनाको विस्तृत जानकारी बारे बोर्डसमेत नराखिएको समितिका पदाधिकारीहरुले बताएका छन् ।

संसद् समितिले सम्बन्धित ठेक्का कम्पनीहरूलाई लिखित पत्राचार गरिसकेको अवस्थामा पनि निरीक्षणमा आउँदा ठेक्का सञ्चालकहरूको उपस्थित नहुनु दुःखद रहेको राउतले बताए । उनले निरीक्षण पश्चात् योजनाहरूको कार्य प्रगति विवरणसँगै परियोजनामा देखिएका कारण, त्रुटिहरू लिखितरुपमा समितिमा पेश गर्ने जानकारी दिए ।

३५ वर्षअघि शिलान्यास हुँदा पनि निर्माण सम्पन्न हुन नसकेको राजविराजको बसपार्क, सात वर्षदेखि निर्माणाधीन रहेका राजविराज हटिया, दशकौ बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेका हुलाकी राजमार्गलगायत जिल्लाका गौरवका योजनाहरू लथालिङ्ग भइरहँदा सरकारले कार्यप्रगति विवरण, समयमा निर्माण सम्पन्न हुन नसक्नुको कारणहरू बारे बुझ्न कार्यदल खटाइएको प्रतिनिधिसभा सदस्यसमेत रहेका कार्यदलका सदस्य दिनेशकुमार यादवले बताए । समितिको कार्यदलको टोलीमा निशा डाँगी, दिनेश यादव, विना लामा, सुशीला श्रेष्ठ तथा मन्त्रालयको शाखा अधिकृत लक्ष्मी देवी भण्डारी रहेका छन् ।

Comment


Related News

Latest News

Trending News