अपडेट 
२०८० कार्तिक २६, आईतवार ०८:१४

नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ ।

गत १२ कार्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरुको लाइन काट्न सुरु गरेका छन् । यसअवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ ।

मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरुले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् । ती ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ । कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरुले महसुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन् । ती ग्राहकहरुको बक्यौता रकम भने ९ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगञ्जमातहतका वितरण केन्द्रहरूले ४ हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरुको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ । लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरुले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरुको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ ।

वाग्मती प्रादेशिक कार्यालय, काठमाण्डु मातहतको वितरण केन्द्रहरुले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन् । उनीहरुमाथि बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ । गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ । उनीहरुमाथि बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ ।

वाग्मती प्रदेश डिभिजनल कार्यालय, हेटौंडा मातहतका वितरण केन्द्रहरुले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन् । उनीहरुमाथि बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियामातहतका वितरण केन्द्रहरुले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन् । त्यहाँ बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ ।

त्यस्तै कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमातहतका वितरण केन्द्रहरूले ६ सय २४ ग्राहको लाइन काटेका छन् । बक्यौता रकम ९१ लाख रुपैयाँ छ । प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने जनाएको छ ।

विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

Comment


Related News

Latest News

Trending News