अपडेट 
२०८० कार्तिक २६, आईतवार ०८:२१

सप्तरीमा जनता समाजवादी पार्टी नेपालको आन्तरिक द्वन्द्व चर्किदै गएको छ । पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य रेणु यादव, शैलेन्द्र प्रसाद साह तथा स्थानीय केही प्रभावशाली नेताको योजनामा जिल्ला स्तरीय भेलामार्फत ५७ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेको तेश्रो दिन शनिबार त्यसलाई अवैधानिक भन्दै संस्थापन भनिएका जिल्ला कार्य समितिले पत्रकार सम्मेलनमार्फत कारवाही प्रक्रियामा जाने धम्की दिएपछि आन्तरिक द्वन्द्व चर्किएको छ ।

पार्टीका असन्तुष्ट पक्षले राजनीतिक समितिका सदस्य रेणु यादव, शैलेन्द्र प्रसाद साह, मधेश प्रदेशका उपाध्यक्ष शम्भु झा, केन्द्रीय सदस्य जगदेव यादव, दीपक यादवलगायतको उपस्थितिमा तीन दिन अघि उमेश प्रसाद यादवको अध्यक्षतामा ५७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको थियो । तर उक्त समिति अवैधानिक भएको तथा केही नेताको स्वार्थपूर्तिका लागि गरिएको भन्दै शनिबार संस्थापन पक्ष भनिएका जिल्ला अध्यक्ष केदार यादवले पत्रकार सम्मेलनको आयोजना गरी कुनै पनि हालतमा उमेश प्रसाद यादव नेतृत्वको नयाँ कार्यसमितिले मान्यता नपाउने दाबी गरेका छन् ।

पार्टीको विधान, परिपत्र र पद्धति विपरीत भेला गरी गठन गरिएको समिति अवैधानिक हो, अध्यक्ष केदार यादवले भने–‘पुरानो जिल्ला कार्यसमितिका ४८ मध्ये ४५ जना यसमा नै रहेकाले हाम्रो समिति नै अधिकारिक र वैधानिक हो ।’ आफूहरु पार्टीको विधान, परिपत्र र पद्धति अनुसार नै चयन भएकाले सोही प्रक्रियाबाट मात्र परिवर्तन हुनसक्ने भन्दै उनले अवैधानिक ढंगले आयोजना गरिएको भेलाबाट गठित भएको अर्को समिति अवैधानिक, नौटंकी र बार्गेनिङ्गको लागि मात्र भएको दाबी गरे । पार्टीको विधान र पद्धति विपरीत भएको असन्तुष्ट पक्षको भेलाबाट स्वघोषित पदाधिकारी तथा तिनलाई प्रयोग गर्ने नेताहरुलाई कारबाही प्रक्रिया अघि बढाउन थालिएको र यस क्रममा पहिलो चरणमा उनीहरुलाई स्पष्टीकरण सोध्ने तयारी भएको उनले जानकारी दिए ।

पार्टीको जिल्ला र केन्द्रको निर्णय विपरीत असन्तुष्ट पक्षले गरेको भेलाबाट गठित समिति अमान्य रहेको उनको भनाइ छ । उनले जिल्ला कार्यसमितिको बसेको बैठकले पार्टी विरोधी गतिविधिमा लागेकालाई छानबिन गरी दोषी पाइएकालाई कारबाही गर्ने सर्वसम्मत निर्णय भएको जानकारी समेत दिए । पत्रकार सम्मेलनमा जिल्ला उपाध्यक्ष हरेराम यादव, उपसचिव शम्भु यादवले पनि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए । यता असन्तुष्ट पक्षले पार्टीका व्यापक अगुवा कार्यकर्ताको भेलाले उमेश प्रसाद यादवको अध्यक्षतामा गठन गरेको समिति नै आधिकारिक रहेको दाबी गरेका छन् ।

जिल्ला प्रदेश र केन्द्र सम्मका नेता– कार्यकर्ताको व्यापक सहभागितामा गठन भएको नयाँ समितिले नै आधिकारिकता पाउँछ, मधेश प्रदेश समितिका उपाध्यक्ष शम्भु झाले भने– पार्टीको साख जोगाउन उमेश प्रसाद यादवको अध्यक्षतामा गठित समितिलाई नै मान्यता दिनु बाहेकको अर्को विकल्प छैन् । महिला नेतृ एवं जसपा राजनीतिक समिति सदस्य रेणु यादवको भनाइ पनि यस्तै छ । उनले भनिन–जिल्लादेखि केन्द्रमा नेतृत्व गर्नेहरुले लोकतान्त्रिक विधि त्यागेर मनोमानी र एकलौटी ढंगले हिँड्दा जनता र कार्यकर्ताको माग अनुसार नयाँ कार्यसमिति गठन गरिएको छ । नेतृत्वमा रहेको कमजोरीका कारण कार्यकर्तामासमेत नैराश्यता बढ्दै गएका कारण पार्टी नै धरासायी बन्न थालेपछि पार्टी जोगाउन यस्तो निर्णय लिनु परेको उनले प्रष्ट गरे ।

Comment


Related News

Latest News

Trending News