पछिल्लो समय धनुषा र महोत्तरी जिल्ला तस्करहरुको लागि उर्वराभूमि बन्दै गएको छ ।
दुबै जिल्लाहरुको सीमावर्ति नाकाहरुबाट प्रहरीको मिलेमतोमा ठूलो परिमाणमा भन्सार छलेर सुर्तीजन्य पदार्थको धनुषाको जनकपुरधाम, सबैला, यदुकोहा, महोत्तरीको जलेश्वर, बर्दिवास, गौशालासहितका बजारमा भित्रिने गरेको पाइएको छ । भारतीय बजारबाट अवैध रुपमा पान पराग, रजनीगन्धा लगायतका गुटकाहरु अवैध रुपमा आयात भइ भित्रिने गरेकोले सरकारको लाखौं रुपैयाँ गुम्दै गइरहेको छ ।
छिमेकी मुलुक भारतको जयनगर, बासोपट्टी, उमगाँव, मधुवापुर, भिठ्ठामोड, सुरसण्ड लगायतको बजारबाट तस्कर हरुले दैनिक एक करोडभन्दा बढी मूल्यको रजनीगन्धा, पान पराग, राजनिवास, तुलसी, जर्दालगायत विभिन्न प्रकारको पान मसाला तस्करी गरी यस क्षेत्रका नेपाली बजारमा भित्र्याउने गरेको स्थानीय व्यापारीहरुको भनाइ छ ।
फुटकर तस्करहरुले साइकल र मोटरसाइकलबाट यस्ता सुर्तीजन्य पदार्थहरु भित्र्याउने गरेका छन् । उनीहरुले यस्ता सामानहरु पान पसल, चिया पसल, किराना पसललगायतका पसलहरुमा दिने गरेका छन् । पान पराग, रजनीगन्धा, तुलसीलगायत सुर्तीजन्य पदार्थमा अत्यधिक भन्सार भएकोले भन्सार छलेर चोर बाटो हुँदै लुकाई छिपाई ल्याउने गरिएको छ ।
जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताका अनुसार हालसम्म यस्ता पदार्थको भन्सार काटिएको रेकर्ड छैन् । खुल्ला सीमाको कारण यस्ता सामानहरु चोरी पैठारी भइ नेपाली बजारमा आउने गरेको उनले बताए । सुर्तीजन्य पदार्थको कुलत युवा पुस्तामा बढ्दै गएको छ भने अर्कोतिर सरकारको राजस्वसमेत गुम्दै गएको छ । भारतबाट पान मसाला ल्याउने कार्यमा एकसयभन्दा बढीको संलग्नता रहेको व्यापारीहरु बताउँछन् ।