
चक्कू प्रहारबाट गम्भीर रुपमा घाइते भएका रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ६ का २० वर्षीय राहुल साह तेलीको उपचारको क्रममा आज बिहान एल एस न्युरो होस्पिटल विरगञ्जमा निधन भएको छ ।
कार्तिक २४ गते शुक्रबारका दिन नेमधारी बासुदेब नमुना माध्यमिक विद्यालय मुडवालबाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम हेर्न गएको बेला राहुलमाथि चक्कू प्रहार गरिएको थियो ।
विद्यालयको कम्पाउण्ड बाहिर एक आपसमा सामान्य विवाद हुँदा सोहि गाउका उमेश साह बानियाको २० वर्षीय छोरा राहुल साह गुप्ताले छातीमा चक्कू प्रहार गरेको थियो ।
घाइते भएको अवस्थामा पनि राहुल साहले आरोपितलाइ समातेर विद्यालय प्रशासनको जिम्मा लगाउन सफल भएका थिए । देव्रेतर्फ तिन पटक चक्कू प्रहार भएर गम्भिर घाइते भएपछि उनलाई थप उपचारका लागि वीरगञ्ज लगिएकोमा आज विहान ५ बजे निधन भएको मृतकका काका राकेश साहले जानकारी दिए ।
उनले आरोपितको काका मुकेश साहले चिकित्सकसंग मिलेर भतिजोको हत्या गराएको आरोप लगाएका छन् । होस्पिटलमा भतिजोको अवस्था सुधारोन्मुख रहेकोमा बेलुका ४ बजेपछि अवस्था गम्भीर भएको चिकित्सकले जनाएको जानकारी गराएको उनले बताए । त्यस अघि मुकेश साहले उपचारमा रहेका चिकित्सकसंग भेटघाट गरेको उनको भनाइ छ । षड्यन्त्रपूर्वक आफ्नो भतिजोको ज्यान लिएको उनको दाबी छ ।
घटनामा संलग्न रहेका मनिष गुप्ता, राजन साहसहित पीडकका घर परिवारका अन्य सदस्यसमेत सम्पर्कविहीन रहेको बुझिएको छ । घटना घटाउने राहुल साह गुप्ता प्रहरीको नियन्त्रणमा रहेको छ भने अन्य आरोपितको खोज तलाश भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।