अपडेट 
२०८० कार्तिक २९, बुधबार ११:३३

महोत्तरी प्रहरीले दुई जना डाँकालाई पक्राउ गरेको छ ।

महोत्तरीमा केहीदिन अघि हातहतियार देखाएर लाखौंको धनमाल लुटपाट गरेकामध्ये दुई डाँका पक्राउ परेका छन् । उनीहरुलाई रौतहटको गौरबाट पक्राउ गरी महोत्तरी ल्याउने क्रममा हतकडीसहित भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरेको थियो । गोली लागेर पक्राउ परेका दुबैजना डाँका घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सर्लाहीको नेत्रगंंज १ हाल जिल्ला सर्लाही लालबन्दी नगरपालिका २ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् । दुबैजनालाई बाँया खुट्टामा गोली लागेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

डिएसपी गिरीका अनुसार मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा सर्लाहीको संग्रामपुरमा महोत्तरी प्रहरीको गाडी बिग्रेको थियो । त्यहाँबाट सर्लाही प्रहरीको गाडी सहयोग लिइ महोत्तरीको सीमा सोनमा गाउँ पालिका ५ स्थित ल्याएको थियो । राति १० बजे महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा हतकडीसहित हामफालेर भाग्न लागेपछि तीन राउण्ड गोली प्रहार गरेर पुनः पक्राउ गरेको डिएसपी गिरीले बताए । दुबैजनाको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते दुबैजनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

डिएसपी गिरीका अनुसार पक्राउ परेका दुबैजनासहितको डाँका समूहले केही दिन अघि महोत्तरी र रौतहटमा डकैति गरेका थिए ।

Comment


Related News