
छठ पर्वले मिथिला क्षेत्र अहिले धपक्क बलेको छ । यहाँका शहर र गाउँबस्ती सजिएका छन् । जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ । विभिन्न रंगका कलात्मक बिजुलीको उज्यालोले मिथिला क्षेत्र जगमगाएको छ । मिथिलाका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन् । गाउँ बस्तीका कच्ची घर पनि अहिले नयाँ माटोले लिपपोत गरिएपछि टिलिक्क भएका छन् । विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ । गाउँका गरिब अभाव, दुःख र अन्य पीडा बिर्सेर खुसी साटासाट गरिरहेका देखिन्छन् । भगवान् सूर्य र षष्ठी देवीको उपासना गरिने यो पर्वका लागि अहिले पवित्र जलाशयमा सुन्दर घाट बनाइएका छन् ।
जलाशयमा कम्मरसम्म डुब्ने पानीमा आसन जमाएर सूर्यलाई अघ्र्य दिइने परम्पराको यो पर्वमा घाटस्थलहरु अहिले बेहुली झैं सिंगारिएका छन् । बिहीबार कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबाअरबाइन’ विधिबाट पर्वको तयारी थालेका व्रतालुले शुक्रबार कात्र्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधि गरेका छन् । ‘नहाय–खाय’ विधि व्रत सङ्कल्पका लागि पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रतको पूर्वतयारीसँग जोडिने यहाँका पाका मैथिल बताउँछन् ।
पर्वको तयारीले मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा भगवान् सूर्य र छठी माताको भक्तहरुप्रति करुणा भावका गीत लगातार गुञ्जिरहेका छन् । पर्व सुरु भएसँगै यस भेगका सबै दैनिक गतिविधि पनि छठमा केन्द्रित भएका छन् । यसले सम्पूर्ण परिवेश नै छठमय बनेको छ । पर्व विशेषले सूर्यलाई अघ्र्य दिँदा देखाइने ठकुवा, भुसुवालगायत परिकार पकाउन आवश्यक सामग्रीको जोहोमा व्रतालु परिवार व्यस्त छन् । पर्वका लागि आवश्यक सामग्रीको जोहो हुँदैछ ।
पर्वको मुख्य दिन निराहार व्रत गरिने षष्ठी तिथि भए पनि त्यसपूर्व नै मिथिलाको सम्पूर्ण परिवेश छठमय बनेको छ । पर्वको तयारीमा रहेका व्रतालु मात्र नभएर मैथिल जनजीवनका सबैजसो गतिविधि पर्वकै तयारीमा केन्द्रित छन् । छठ पर्वमा उखु, केरा, अदुवा, बेसार, ज्यामिर, भोगटेसहितका कृषि उपज पूजा सामग्री मानिदै आएका छन् । यसले थोरै जग्गा भएका गरिबले करेसाबारीमै उब्जाएका यी फसलले राम्रो बजार पाउने गरेका छन् । काम गर्न टाढा पुगेका परिवारजन पर्वका लागि घर आएका छन् ।
पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ । यसअघिका जीवनमा भोगिएका सबै अभाव र दुःख बिर्सेर गरिब पनि आफ्नो क्षमताअनुसार पर्व मनाउन जुटेका छन् । छठको अर्को विशेषता घर परिवेशको स्वच्छता एवं शुद्धता रहेको यस भेगका बुढापाका बताउँछन् । विधिको गणनाले कात्र्तिक शुक्ल तृतीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा क्रमशः अरबाअरबाइन, नहाय–खाय, खरना, सझुका अर्घ र भोरका अर्घ मुख्य विधि मानिन्छन् ।
तृतीयाका दिन व्रतालुले उसिना चामल, माछामासु, कोदो, लसुन–प्याज खान छाड्छन् । यसलाई ‘अरबाअरबाइन’ भनिन्छ । चौथीका दिन व्रतालुले हात गोडाका नङ काटेर स्नान गरेर व्रत सङ्कल्प गर्दै चोखो खान्छन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । त्यसैगरि पञ्चमी तिथिमा राति एकछाकमात्र अलिनो खानेकुरा खाएर व्रतालुले ‘खरना’ विधि गर्दछन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिने ‘सझुका अर्घ’ सम्पन्न गरिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ दिने ‘भोरका अर्घ’ विधि भएपछि पर्व समापन गरिने परम्परा छ ।