अपडेट 
२०८० मंसिर २, शनिबार ०७:४१

कृषिकर्ममा आधारित महानपर्व छठ शुभारम्भ भइसकेको छ । ‘नहाय खाय’ शुक्रवार व्रतालुहरुले सम्पन्न गरेका छन् । नहायखायमा पवित्र जलासयमा स्नान गरी व्रतालुहरुले चोखो खाने गर्छन् ।

नेपालको तराई मधेशका प्रमुख पर्वमध्येको एक हो छठ पर्व । छठ पर्व प्रारम्भ भएसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । दिउँसै सुनसान देखिने जनकपुरधामका बजारमा छठका लागि सरसमान किनमेल गर्ने सर्वसाधारणको चहपहल अबेरसम्म देखिन थालिएको छ । आर्थिक मन्दीका कारण दशैं, दीपावलीमा खासै व्यापार भएको थिएन् । छठमा भने व्यापारमा केही सुधार देखिएको स्थानीय व्यापारीहरु बताउँछन् । छठ पर्वमा कपडादेखि माटाका भाँडा, बाँसबाट बनेका सामग्री नाङ्गगो, चंगेरासहितको मूल्य बढेको छ । त्यसैगरि, खाद्यान्न सामग्रीहरुको माग बढेसँगै मूल्य पनि बढेको बताइन्छ ।

जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले दीपावलीदेखि बजारको आर्थिक कारोवारमा बिस्तारै सुधार आएको बताए । दशैंसम्म बजारमा सर्वसाधारणको चहलपहल भए पनि आर्थिक करोवार खासै भएको थिएन्, उनले भने,‘ तर दीपावलीदेखि छठसम्म तुलनात्मक रुपमा सुधार देखिएको छ ।’ छठ पर्वमा अन्य सामग्री भन्दा केरा, सुन्तला, स्याउसहितका फलफूलको कारोवार अत्यधिक हुने गरेको छ । यस वर्ष छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधाममा झण्डै ४ करोड मूल्य बराबरको फलफूल भित्रिएको जनकपुरधाम फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवले बताए । छठ पर्वलाई लक्षित गरी ७० ट्रक केरा, १२ ट्रक स्याउ, ४ ट्रक अनार र ५ ट्रक सुन्तला ल्याइएको अध्यक्ष यादवले बताए ।

धनुषा, महोत्तरी र सिरहा गरी तीन जिल्लाका उपभोक्ताले छठमा जनकपुरधामबाटै केरा लगायतका सामग्री खरिद गर्ने गरेको उनले बताए । एउटा केराको घडी (घौर)को मूल्य ४सय देखि ८ सयसम्म रहेको उनले बताए । उनले गत वर्षभन्दा यस वर्ष २० प्रतिशत बढी फलफूल आयात गरिएको बताए । भारतको असाम, चेन्नई, हाजीपुर, बीरपुर, नेपालको भन्टावारी, इनर्वा लगायतका स्थानबाट केरा ल्याउने गरेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका पूर्व महासचिव भुनेश्वर पुर्वेले जनाए । छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । घाटहरु सजाउने काम सम्पन्न भइसकेको पूजा समितिका पदाधिकारीहरुले जानकारी दिए ।

नेपालको विभिन्न जिल्लाका शहर, गाउँबस्तीसम्म मनाउन थालिएको छठ पर्वको उल्लास तराई÷मधेशमा अपेक्षाकृत बढी देखिन्छ । तराई/मधेशमा मनाइने छठ पर्वमा सहभागी हुन देश विदेशबाट भारी संख्यामा पर्यटकहरु आएका छन् । खास गरी जनकपुरधाम, वीरगञ्ज, राजविराज लगायतका स्थानमा छठ पूजाको दर्शन गर्न आउनेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपालमा छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता प्राप्त छ । संघीय सरकारले संध्या अर्घको दिन आइतबार सार्वजनिक बिदा दिएको छ ।

मधेश प्रदेश सरकारले प्रभातकालीन अर्घ हुने सोमबार पनि बिदा दिएको छ । आइतबार साँझ अस्ताउन लागेको भगवान सूर्यलाई पूजा गरिने र सोमबार बिहान उदाउन लागेको सूर्यदेवको पूजा गरिने छठ पर्वका लागि व्रतालुहरुले ३६ घण्टाको उपवास बस्छन् । व्रतालुहरु शनिबार राति खरनाको प्रसाद ग्रहण गरेदेखि नै उपवास प्रारम्भ भएको मानिन्छ ।

Comment


Related News