अपडेट 
२०८० मंसिर २, शनिबार ०७:५७

आराध्य देव सूर्यको आराधना गरी मनाइने छठ पर्वका लागि भीख माग्नेको संख्या जनकपुरधाममा अत्यधिक देखिएको छ । हातमा कनसुतली, डाला र सुपा लिएर भीख माग्नेहरूको क्रम यहाँ वर्षेनि बढ्दै गएको देखिएको छ ।

यसरी भीख मागेर छठ पर्व मनाउने क्रममा कोही सनातन परम्परा निर्वाह गरिरहेका छन् भने कोही आफ्नो पेशालाई निरन्तरता दिँदै आएका बुझिएको छ ।

छठ पर्व कबुला ( भाकल ) गरे अनुसार गर्ने चलन रहेको छ । भाकल नगरी यो पर्व गरिदैन । मिथिलाञ्चलमा भाकल पनि अनेक प्रकारले गर्ने गरिएको पाइन्छ । कोही भीख मांगेर पनि गर्ने , कोही अभावग्रस्त भएमा भीख मांगेर गर्ने, कोही परम्परागत रूपले भीख मांगेर छठ पर्व मनाउने गरेका छन् । त्यस्तै भाकल अनुसार कोही अरूको हातबाट अर्घदान, कोही आफै व्रत गर्ने, एउटा अर्घ अर्पण देखि जोडा अर्घ अर्पण गर्ने गरेको पनि देखिन्छ । यस अन्तर्गत कोसिया, कुरबार, ढक्कीलगायतका सबैथोक दुई÷दुई प्रति चाहिने हुन्छ ।

यस्तै हात्तीमाथि अर्घ अर्पण, आँगनमा तथा घाटमा आँचलमाथि नटुआ नाच गराउने, बाजा बजाएर अर्घदान गर्ने भाकल गर्ने गरिएको पनि पाइन्छ ।

यसै गरी साधारणतः अर्घ दिने, पानीमा उभिने, घरदेखि घाटसम्म दण्ड दिँदै जानेतथा पानीमा उभिने जस्ता भाकलसमेत गरिएको देखिन्छ । यस्ता भाकल एक वर्षका लागि भनेर गर्नुका साथै पाँच वर्ष, दश वर्ष अथवा आजीवनसमेतका लागि गरिने चलन रहेको छ । जनकपुरधाममा भीख मागेर छठ पर्व मनाउने पुरानो परम्परा हो ।

यहाँका प्रतिष्ठित जैन परिवारदेखि ठूला व्यावसायिक घरानाले पनि भीख मागेर छठ मान्ने गरेको देखिएको छ । कुनै– कुनै परिवारमा प्रसाद माग्ने परम्परा पनि रहेको छ । हुने खानेहरू आफ्ना छिमेकका पाँच वा सात परिवारमा भीक्षाटन गरेर पूजा गर्ने चलनसमेत पाइन्छ । भीख मागेर छठ पर्व मनाउने अथवा प्रसाद माग्ने परम्परा कुनै–कुनै परिवारमा पुस्तैनी रहेको बताइन्छ । कुनै– कुनै परिवारले लक्षित फल प्राप्तिका लागि भाकल गरेर पनि यो परम्परा बसाल्ने गरेका छन् । यद्यपि गरिबहरू पनि छठ पर्व पर्वबाट वञ्चित नहोउन भनी भीक्षाटन गरी छठ व्रत गर्ने परम्परालाई मगन्तेले बदनाम गर्न थालेको पनि देखिएको छ ।

Comment


Related News