
सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको मृत्यु भएको छ ।।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिनुभयो ।
नोचामा रहेकाे छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गर्नुभएकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।
महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा त्यही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हबलदार सुबोधकुमार यादव घाइते भएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । बायाँ खुट्टा भाँचिएका हबलदार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ ।
सडक छेउमा रोकिराखेको बाग्मती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।