अपडेट 
२०८० मंसिर ५, मंगलवार ०७:३९

रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाइएको जनाइएको छ । छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर व्रतालुहरु र सर्वसाधारणलाई जनप्रतिनिधिहरुले भेटघाट तथा शुभकामना आदान– प्रदान गर्ने चलन रहेको छ । मेयर साह र उपमेयर यादव पनि भेटघाट तथा शुभकामना आदान–प्रदान गर्नकै लागि छठ घाटहरु घुम्ने क्रममा वडा ८ मा विवाद भएको बताइएको छ ।

मेयर साहले वडाध्यक्ष शिवप्रसन यादवकै निर्देशनमा आफूहरुलाई घाटमा निषेध गरेर दुव्र्यवहार गरेको बताइन् । उनले भनिन्,‘म तपाईको घर जान्छु, अनि तपाईको निर्देशन बिना कसैले दुव्र्यवहार गर्न सक्छन् ? सक्दैन नि । त्यहाँ वडाध्यक्षकै उक्साहटमा हामीलाई घाटमा जान दिएन । दुवर््यवहार गर्यो ।’ वडा ८ स्थित २५/३० वटा पण्डाल लागेको थियो तर एउटा पण्डालमा मात्र निषेध गरी आफूहरुलाई दुव्र्यवहार गरेको उनले बताइन् । घाट सजावट तथा व्यवस्थापनका लागि बजेट नदिएको भन्दै यस्तो गरेको थाहा पाएको उनले बताइन । ‘विगतका वर्षहरुमा प्रत्येक वडामा छठ घाटका लागि डेढ लाखदेखि साढे ३ लाखसम्म खर्चिन्थ्यौं’, मेयर साहले भनिन्, ‘तर यस वर्ष वडाध्यक्षहरुले नै त्यसलाई फजूल खर्च भन्दै बजेट विनियोजन गर्न दिएनन् । अहिले म त्यति धेरै रकम कसरी खर्च व्यहोर्छौं ? यसकै लागि घाटमा वडाध्यक्ष यादवले निषेध गरी दुव्र्यवहार गर्न लगायो ।’ मेयर साहले वडाध्यक्ष यादवलाई नगरपालिकामा प्रवेश गर्न नदिने बताइन् । उनले भनिन्, ‘हामीलाई निषेध गर्ने र हामी निषेध गर्न नहुने ? हामी पनि निषेध गर्छौं ।’

यता वडाध्यक्ष यादवले आफूले मेयर र उपमेयरलाई घाटमा निषेध गर्न नलगाएको दाबी गरेका छन् । उनले भने, ‘घटना भएको बेला म घरमै थिए । जहाँ विवाद भयो, त्यहाँ मेरो छठघाट पनि छैन् ।’

मेयर साह आम जनता पार्टीका अध्यक्ष तथा संघीय सांसद प्रभु साहकी श्रीमती हुन् । निर्वाचित भएको पार्टी नेकपा एमाले त्यागेपछि उनको पद नै गुमेको थियो । केहीदिन अगाडि मात्र अदालतले निर्वाचन आयोगको निर्णय उल्टाएपछि उनी पुनः मेयरको जिम्मेवारीमा फर्केकी छन् ।

Comment


Related News

Latest News

Trending News