
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशकै विवादास्पद पप्पु कन्सट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई मंगलबार फूलमाला लगाएर पार्टीमा भित्र्याएका छन् ।
रौनियार स्वामित्वको पप्पु कन्सट्रक्सनले देशमा ठूला पुलहरुको ठेक्का लिएर अलपत्र छाडेको आरोपित हुन् । समयमै ठेक्काको काम सम्पन्न नगरेको आरोपमा रौनियारको पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राखिएको छ ।
रौनियार संघीय संसदबाट निलम्बित रहेका छन् । उनलाई भ्रष्टाचारी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामासमेत दोषी ठहर गरिएको छ ।
गत संसदीय निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टी(जसपा)बाट पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । रौनियार पछिल्लो समयमा जसपाको केन्द्रीय समितिमा रहेका थिए । गत वर्ष सम्पन्न आम निर्वाचनमा रौनियारकी छोरीलाई जसपाले प्रदेश सभामा टिकट दिएको थियो । तर उनी पराजित भएकी थिइन् ।
कार्यक्रममा अध्यक्ष ओलीले केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेको आरोप लगाएका छन् ।
पर्साको पोखरीयामा नेकपा एमालेले मंगलवार आयोजना गरेको आमसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थ पूर्तिका लागि जनतालाई भिडाउने काम गर्न नहुने धारणा राखे । उनले एमालेले सबैलाई एकताबद्ध गरेर राष्ट्र निर्माण गर्ने अभियानमा लागेको बताए ।
उनले भने, ‘सबैले छोरा–छोरी पढाउन पाउनुपर्छ । मुसहर, मुस्लिम, साह, यादव, गरिब, दलित सबैले पढ्न पाउनुपर्छ । अनि जातको कुरा गरेर के अर्थ ?’ उनले जातको नभएर परिवर्तन, विकास, एकता र देशको कुरा गर्नुपर्नेमा जोड दिए । ‘विद्यालय र क्याम्पस जातको बन्दैन्, मान्छेले नबुझेर मात्र जातको कुरा गर्छन’, उनले भने । अध्यक्ष ओलीले विभिन्न भ्रमहरु त्यागेर राष्ट्र निर्माणको अभियानमा लाग्न आह्वान समेत गरे ।
एमाले अध्यक्ष ओलीले शिक्षामा जोड दिइरहेको कार्यक्रममा विद्यार्थी र शिक्षकको सहभागिता बढाउन पोखरीया नगरपालिका अन्तर्गत रहेका २४ वटै विद्यालय बन्द गरिएको थियो । एमालेबाट निर्वाचित नगरप्रमुख प्रद्युम्न चौहानको मौखिक आदेशमा विद्यालयहरु बन्द गरिएको शिक्षा समितिका संयोजक विजय झाले बताए ।
दशैंको विदापछि विद्यालयहरु मंगलबार मात्र खुलेका थिए । तर मेयर चौहानले शिक्षकहरुलाई विद्यार्थीसहित सभामा आउन उर्दी जारी गरेका थिए । विद्यालयहरु अब बुधवारबाट सञ्चालन हुने झाले जनाए ।
अध्यक्ष ओलीले पर्साको पोखरियालाई नमुना स्मार्ट सिटीका रुपमा विकास गरिनुपर्नेमा जोड दिँदै जिल्लामा सबै सरकारी अड्डा, सय बेडको अस्पताल, चार लेनको सडक अन्य विकास तथा पूर्वाधारका काम सम्पन्न गरेर पोखरियालाई नमुना स्मार्ट सिटी बनाइनुपर्ने बताए ।
पूर्व प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पोखरियामा देखिएका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराई काम पूरा गराउन लगाउने आश्वासनसमेत दिए । उनले आफू २७ वर्षपछि पोखरियामा आएको बताउँदै यो अवधिमा पर्साको पोखरिया नगरपालिकाले विकासको मामिलामा केही हदसम्म फड्को मारेको तर जनचाहना अनुसार पूर्णरुपमा विकास नभएकाले अझ विकास हुनु जरुरी रहेको धारणा राखे ।
उनले उपस्थित सम्पूर्ण जनतालाई एमालेको मिसन २०८४ लाई साथ दिन आग्रह गर्दै भने,‘‘एमालेको एकल बहुमत आयो भने देशको विकास हुन्छ, सामाजिक एकता कायम रहन्छ, भ्रष्टाचारको अन्त्य हुन्छ । समृद्ध नेपाल, सुखी नेपालीको एमालेका अधुरा सपना पूरा हुन्छन् ।’’
एमालेले रौनियारलाई पार्टी प्रवेश गराएसँगै समाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको छ । एमाले निकटका वरिष्ठ पत्रकार तिर्थ कोइरालाले रौनियारको प्रवेशप्रति कटाक्ष गर्दै एमाले अध्यक्ष र रौनियारलाई बधाई दिएका छन् ।
एमाले सम्बद्ध कयौं कार्यकर्ताहरुले रौनियारको प्रवेशलाई पार्टीहित विपरीत भनेका छन् । उनीहरुले अध्यक्षको खिलाफमा लेखेका त छैनन्, तर, घुमाउरो ढंगले आलोचना गरेका छन् ।
अध्यक्ष ओलीले रौनियारलाई भित्र्याएर काठमाण्डु फर्केका छन् । उनी साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकमा सहभागी भएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै पप्पु कन्ट्रक्सनका संस्थापक प्रमुख समेत रहेका रौनियारले जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दालाई भजाएर सत्तामा पुग्ने निजी स्वार्थमा लागेकाले आफूले जसपा परित्याग गरेको बताए । उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेकाले आफू एमाले प्रवेश गरेको जनाए ।
एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव योगेश भट्टराई ,रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरु अरविन्द सिंह, राजकुमार गुप्ता लगायतले धारणा राखेका थिए ।