अपडेट 
२०८० मंसिर ८, शुक्रबार ०७:२८

लुट्ने थलोको रुपमा कुख्यात बनेको जनकपुर न्यूरो अस्पतालका चिकित्सकहरुको लापरबाहीले एकजना बालकको ज्यान गएको छ ।

अस्पतालले बच्चा ठिक भइसकेको भन्दै डिस्चार्ज गरेको ८ मिनेट नबित्दै मृत्यु भएको शोकाकुल परिवारजनले जनाएका छन् । बुधबार राति ९ बजे अस्पतालमा भर्ना गरिएका बालकको बिहान ११ बजेर २ मिनेटमा डिस्चार्ज गरिएको थियो । अस्पताल परिसरबाट बाहिर निस्कन नपाउँदै ११ बजेर १० मिनेटमा बालकको मृत्यु भएको शोकमग्न परिजनले जनाएका छन् ।

उपचारमा संलग्न चिकित्सक डा.शशिभुषण ठाकुर र अस्पताल सञ्चालकमाथि कारबाहीको माग गर्दै पीडित परिवारले यो समाचार तयार पारुञ्जेल राति ९ बजेसम्म अस्पतालबाट शव उठाएका छैनन् । तर अस्पताल सञ्चालक र शोकाकुल परिवारका सदस्यहरुबीच क्षतिपूर्तिको विषयमा वार्ता भइरहेको छ ।

धनुषाका प्रहरी निरीक्षक विनय सिंहका अनुसार दुबै पक्षबीच वार्ता जारी रहेको छ । अबेर रातिसम्म सहमति हुन नसकेकाले बच्चाको शव न्यूरो अस्पतालमा राखिएको छ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको वडा नम्बर ६ मालटोलका ४ वर्षीय जेम्स कालिकोटेको चिकित्सकको लापरबाहीले अस्पताल परिसरमै मृत्यु भएको आरोप परिजनले लगाएका छन् ।

मृतकका मामा सुनिल कुमार परियारले बच्चालाई अस्पतालबाट बाहिर लग्न नपाउँदै जोडले साँस लिएको र तत्काल मृत्यु भएको बताए । ‘चिकित्सकले बच्चा ठिक भइसकेकाले डिस्चार्ज गरी घर लग्न भनेपछि डिस्चार्ज गरिएको थियो’ परियारले भने, तर बच्चाको अवस्था गम्भीर रहेकाले एकचोटी मात्र जोडले साँस लिएपछि मृत्यु भएको थियो । चिकित्सकले धोका दिएर डिस्चार्ज गरेको उनको आरोप छ । परियारका अनुसार बुधबार बिहान बालकले बान्ता गरेका थिए । रुघाखोकी जस्तो देखिएर स्वास्थ्यमा समस्या देखिएपछि बाल रोग विशेषज्ञ डा. शशिभूषण ठाकुरको क्लिनिकमा उपचारका लागि लगेको बताए ।

डा. ठाकुरले भने आफू कार्यरत रहेको न्यूरो अस्पतालमा उपचार गर्न रेफर गरेका थिए । ‘बालक बुधबार बिहान खेलिरहेका थिए । मोबाइल पनि चलाइरहेका थिए । बच्चाको आमाले भन्नुभयो मेरो बच्चा खेलिरहेको छ, अब डिस्चार्ज गरिदिनुस् । हामी काठमाण्डु नै बस्छौं, त्यतै लिएर जान्छौं । त्यसपछि मैले डिस्चार्ज गरिदिएँको हुँ’, डा. ठाकुरले बताए । २०७८ फागुन देखि स्वीकृति बिना डा. विजय राउतले सञ्चालन गरेको न्यूरो अस्पतालमा दिनहुँ नै रोगीका आफन्त र अस्पताल सञ्चालकहरुबीच झैंझगडा हुने गरेको छ ।

गत साउन २९ गते स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोलीले न्यूरो हस्पिटलको अनुगमन गरेको थियो । टोलीले अस्पताललाई मापदण्ड पूरा गरी मात्र सञ्चालन गर्न निर्देशन दिएको थियो । तर उनले टोलीको निर्देशनलाई वेवास्ता गर्दै अस्पताललाई सञ्चालन गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News