अपडेट 
२०८० मंसिर ९, शनिबार ०७:५५

स्वीकृति बिना सञ्चालित जनकपुर न्यूरो हस्पिटलले एकजना ४ वर्षे बालकको ज्यान लिएपछि प्रहरीको दबाबमा १० लाखमा मिलापत्र गराइएको छ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको वडा नम्बर ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय बालकको ज्यान लिने जनकपुर न्यूरो हस्पिटलबाट प्रहरीले १० लाख क्षतिपूर्ति भराएर उन्मुक्ति दिएको छ ।

पीडित परिवारले चेक बुझे पनि त्यसको विस्तृत विवरण खुलाइएको छैन् । स्रोतहरुका अनुसार आईएमई बैंकको चेक मृतकका काकाको नाउँमा दिइएको छ । अस्पतालमा बाउन्सर रहेका एकजनाको खाताको चेक दिइएको बताइएको छ । सरकारको कुनै पनि निकायबाट स्वीकृति नलिइ सञ्चालनमा रहेको न्यूरो हस्पिटललाई कारबाही गर्नुको साटो प्रहरी प्रशासनले सुरक्षा दिएर पीडितहरुलाई थप पीडा दिइरहेको आरोप विक्रम कालीकोटेले लगाएका छन् ।

बालक जेम्स कालीकोटेलाई उपचारका लागि बुधबार राति डा. शशिभुषण ठाकुरको क्लिनिकमा लगेपछि उनी सम्बद्ध रहेको जनकपुर न्यूरो हस्पिटलमा डा.ठाकुरले पठाएका थिए । डाक्टरले बिहिबार बिहान ११ बजे डिस्चार्ज गरेको ८ मिनेट भित्रै बच्चाले एक पटक जोडले साँस लिदा ज्यान गएको मृतकका मामा सुनिल कुमार परियारले जनाएका थिए ।

कालीकोटेको मृत्युको कारण अस्पताल र उपचारमा संलग्न चिकित्सक रहेका छन् । पीडित परिवारले शवलाई अस्पतालमा नै राखेर विरोध जनाउन थाले । पीडित परिवारले क्षतिपूर्ति, अस्पताल र चिकित्सकमाथि कारबाहीको माग गर्दै शव अस्पतालमा नै राखेका थिए । तर अबेर साँझ प्रहरीले मृतकका परिवारमाथि दबाब बढाउँदै राति १० बजे १० लाखमा मिलापत्र गराएको छ । राति नै पीडित परिवारलाई सहमति गर्न बाध्य बनाएर शव लिएर घर जान प्रहरीले अत्यधिक दबाब दिएको मृतकका मामा परियारले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मृतकका परिवार र अस्पताल सञ्चालकबीच बिहीबार राति नै सहमति भएको पुष्टि गरे पनि रकमको विषयमा खुलाएको छैन् । अस्पताल सञ्चालकमाथि कारबाहीको प्रक्रियाबारे प्रहरी मौन नै देखिएको छ । मिलापत्रका लागि प्रहरीले दबाब दिएको भन्दै साँझ विरोध गरेका पीडित परिवारका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले अस्पताल सञ्चालकहरुसित मिलापत्र गरेपछि मात्र प्रहरीले नियन्त्रणमा लिएका ६ जनालाई रिहा गरेको परियारले बताए । परियार पनि पक्राउ परेका थिए ।

यस अघि पनि अस्पतालको लापरबाहीको कारण कयौं मानिसको मृत्यु भएको आरोप जनकपुर न्यूरो अस्पतालमाथि लागेको छ । २०७८ सालदेखि सञ्चालनमा आएको अस्पतालले हालसम्म कतैबाट स्वीकृति लिएको छैन् । अस्पतालको लापरबाहीले एकजनाको मृत्यु भएपछि सम्बन्धित निकायले अस्पतालको छानबिन गरेको थियो । तर अस्पताल सम्बन्धी अधिकांश मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको जनकपुर न्यूरो अस्पताललाई स्वीकृति लिन निर्देशन दिएको थियो । तर सञ्चालक डा.राउतले त्यसलाई धोती लाइ दिएर मृत्युको व्यवसाय चलाएका छन् ।

अस्पतालमा मनपरी ढंगले शूल्क लिने गरिएको पीडितहरुले आरोप लगाउँदै आएको छ । अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको अभावसमेत रहेकाले बिरामीको अकालमा ज्यान जाने गरेको आरोप अस्पतालमाथि लाग्दै आए पनि सम्बन्धित निकायहरुले रहस्यपूर्ण ढंगले मौन साधेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News