अपडेट 
२०८० मंसिर १०, आईतवार ०८:१५

स्वीकृति बिना २ वर्ष देखि सञ्चालनमा रहेको जनकपुर न्यूरो हस्पिटललाई बन्द गर्न मधेश प्रदेश सरकारले निर्देशन दिएको छ ।

चिकित्सकको लापरबाहीले एकजना ४ वर्षीय बालकको मृत्यु हुँदा अस्पताल सञ्चालकले १० लाख क्षतिपूर्ति दिएर मिलापत्र गरेको घटना सार्वजनिक भएपछि मधेश प्रदेश सरकारले अस्पताल बन्द गर्न निर्देशन दिएको छ । न्यूरो अस्पतालमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको वडा नम्बर ६ मालटोलका जेम्स कालीकोटेको बिहीबार मृत्यु भएको थियो ।

चिकित्सकले बच्चाको स्वास्थ्य ठिक भएको झुठो आश्वासन दिएर अस्पतालबाट डिस्चार्ज गरेको ८ मिनेट भित्रै अस्पताल परिसरमा नै मृत्यु भएको थियो । बच्चाले एक पटक लामो श्वास लिएसँगै प्राण उडेको पीडित परिवारजनले जनाएका छन् । चिकित्सकको लापरबाहीले बच्चाको ज्यान गएको समाचार सार्वजनिक भएपछि मधेश प्रदेश सरकारले अस्पताललाई कारबाही थालेको हो । समाचारहरुका अनुसार अस्पतालको लापरबाही देखिएकाले कारबाही गरिएको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बताएका छन् । ‘अस्पताल सञ्चालनको प्रारम्भिक प्रक्रियासमेत पूरा नगरेकाले सरकारले कारबाही गरेको छ’ मुख्यमन्त्री यादवले भने, आवश्यक आधारभूत साधन उपलब्ध नरहेको अस्पताल सञ्चालनमा रोक लगाइने छ ।

डा.विजय राउतले सञ्चालन गरेको जनकपुर न्यूरो हस्पिटलमा न्यूरो सम्बन्धी उपचारका लागि अत्यावश्यक रहेको सिटी स्क्यान, एमआरआई मेसिनसमेत रहेको छैन् । मधेश प्रदेशभरिका निजी अस्पतालहरुको इजाजत पत्र लगायतका कागजात र आवश्यक उपकरणहरुबारे अनुगमन गरिने मुख्यमन्त्री यादवले बताए ।‘सुबिधा नभएका अस्पताललाई कारबाही गरिने छ’ उनले भने, सर्वसाधारणको स्वास्थ्यसित खेलवाड गर्न सरकारले कसैलाई छुट दिने छैन् ।

न्यूरो अस्पताल सञ्चालन गरेको २ वर्ष हुन लाग्दा पनि सम्बन्धित निकायबाट सञ्चालन अनुमति प्राप्त गर्न असफल भए पनि बन्द गरिएको छैन् । अस्पताल सञ्चालकलाई अनुमति लगायतका आवश्यक कागजात सहित प्रदेश स्वास्थ्य मन्त्रालयमा २४ घण्टा भित्र हाजिर हुने पत्र शुक्रबार पठाइएको छ । स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहले अस्पताल सञ्चालकलाई पत्राचार गरिएको बताए ।‘सञ्चालकलाई २४ घण्टा भित्र अस्पताल सम्बन्धी सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिएको छ ’मन्त्री सिंहले भने, अस्पतालको सञ्चालन अनुमती पेश नगरे तत्काल अस्पताल बन्द गरी आवश्यक कारबाही गरिनेछ ।

मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा अवैध रुपमा कयौं निजी अस्पताल सञ्चालनमा रहेका छन् । तर सम्बन्धित निकायको मौनताले अस्पताल सञ्चालकहरु सर्वसाधारणलाई उपचारको नाममा लुटिरहेका छन् । मापदण्ड विपरीत सञ्चालित निजी अस्पतालले विशिष्टीकृत सेवा दिने दाबी गरे पनि आधारभूत सेवा बाहेक दिन नसकेको बताइन्छ ।

नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरेकाले अधिकांश निजी अस्पतालले बिरामीसित शुल्क लिन नमिल्ने सरकारी अस्पतालका चिकित्सकहरु बताउँछन् । निजी अस्पतालहरुमा दिनदिनै लापरबाहीको घटना सार्वजनिक भइरहे पनि प्रदेश सरकार उदासीन रहेको आरोप लाग्दै आएको छ । आमनागरिकको जीवनसित सम्बद्ध स्वास्थ्य सेवालाई भरपर्दो बनाउन सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरेसम्म सञ्चालनमा रोक लगाउनुपर्ने माग उठिरहेको छ ।

साथै प्रादेशिक अस्पताल जनकपुरधाममा प्रसूती महिलाको मृत्यु भएको घटनाको छानबिन गरिने समेत उनले बताए । सरकारले घटना छानबिनका लागि समिति गठन गर्ने जनाउँदै चिकित्सकको लापरबाही देखिए कारबाही गरिने उनले जनाए ।

महोत्तरीको मटिहानी नगरपालिका–३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको प्रादेशिक अस्पतालमा चिकित्सकको लापरबाहीले मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । तर अस्पतालका प्रमुख डा.आर एन पण्डितले चम्की रोग लागेकाले उनको मृत्यु भएको प्रष्टयाएका छन् । कयौं निजी अस्पतालमा लगिए पनि उपचार गर्न अस्वीकार गरेपछि अन्तिम समयमा प्रादेशिक अस्पतालमा ल्याइए पनि तत्काल उपचार प्रारम्भ गरी अप्रेशन समेत गरिएको डा.पण्डितले जनाए । बच्चा स्वस्थ्य रहे पनि आमालाई जोगाउन नसकिएको उल्लेख गर्दै डा.पण्डितले भने, चिकित्सकको कतै कुनै प्रकारको लापरबाही देखिएको छैन् ।

डा.पण्डित वरिष्ठ प्रसूती तथा स्त्री रोग विशेषज्ञ हुन् । मृतकको परिवारजनले दिउँसो शव लगेका छन् । निजी अस्पतालले उपचार गर्न अस्वीकार गरे पनि प्रादेशिक अस्पतालले हरसम्भव प्रयासगर्दा पनि आमालाई जोगाउन नसकेकोमा दुखः लागेको उनले बताए । मृतकका भाइ पर्ने मोहम्मद सकिर राइनका अनुसार शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको थियो । वैदेहीलगायत अन्य निजी हस्पिटलहरुले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति ८ बजे पु¥याएपछि चिकित्सकले शल्यक्रिया गरेको थियो । शल्यक्रियामार्फत छोरा जन्माएकी तजवुलको शनिबार बिहान रक्तस्राव भएर मृत्यु भएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News