अपडेट 
२०८० मंसिर १०, आईतवार ०८:४९

वैदेशिक रोजगार ठगीमा परी मुद्दा लड्दै आएका एक कानुन व्यवसायीले नै अदालतको आदेश हुँदा समेत न्याय पाउन सकेका छैन । ९ वर्ष अघि वैदेशिक रोजगार कसुर सम्बन्धी ठगी मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले आफ्नो पक्षमा आदेश गरिदिए पनि सम्बन्धित निकायले अदालतको उक्त आदेश अहिलेसम्म कार्यान्वयन नगर्दा राजविराज नगरपालिका ६ का अधिवक्ता विजय कुमार झा न्याय पाउनबाट वञ्चित छन् ।

साबिक सप्तरीको कल्याणपुर ६ (हाल खडक नगरपालिका) का कर्मचन्द्र चौधरीले आफू वैदेशिक रोजगारमा पठाउने एजेन्ट रहेको विश्वास दिलाउँदै झासित २०६६ बैशाख २ गते मलेशिया पठाउने शर्तमा १ लाख ३५ हजार रुपैयाँ लिएका थिए । चौधरीको विश्वासमा परी ऋण सापटी खोजेर सो रकम बुझाइ मलेशिया पुगेका झा भने त्यहाँ काम नपाइ अलपत्र परे । काम गर्ने भनिएको कम्पनीले चौधरी वा तिनको कम्पनीसँग कुनै सम्झौता नभएको भन्दै काममा लगाउन इन्कार गरेपछि झा मलेशियामा अलपत्र परे ।

मलेशियामा आफू अलपत्र परेको बारे जानकरी गराएपछि परिवारजनको सहयोगमा घर फर्केका झाले चौधरीविरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिए । २०६७ साल जेष्ठ २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा चौधरी समेतलाई राखी भएको छलफलमा चौधरीले केही कागजी प्रक्रिया नपुगेको र त्रुटिवस त्यस्तो हुन गएको स्वीकार गर्दै थप ९५ हजार रुपैयाँ दिए । सोही कम्पनीमा काम गर्न पुनः पठाइदिने मौखिक र लिखित सहमति गरेको झाको भनाइ छ ।

प्रहरीकै रोहवरमा सहमति भएपछि चौधरीलाई थप ९५ हजार रुपैयाँ बुझाएको झाको कथन छ । तर थप रकम दिँदा पनि वैदेशिक रोजगारीमा पठाउन चौधरीले आलटाल गर्दै गएपछि आफू न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेको झाले बताए । प्रहरीले २०६८ साल कार्तिक ८ गते चौधरीलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउँदै जिल्ला सरकारी वकिल कार्यालयमार्फत ठगी शीर्षकमा मुद्दा पनि अघि बढायो ।

प्रतिवादी चौधरीको बयान र कागजातका आधारमा वैदेशिक रोजगार ऐन अन्तर्गत उक्त मुद्दा वैदेशिक रोजगार विभाग तिनकुने काठमाण्डु पुग्यो । त्यसपछि न्याय खोज्न झाको काठमाण्डु दौडाहा शुरु भयो । दर्जनौं पटक काठमाण्डु पुगेर वैदेशिक रोजगार विभाग तिनकुनेको चक्कर लगाउने गरेका झा त्यहाँबाट पनि न्याय पाउन ढिलाइ र आलटाल हुन थालेपछि न्यायका लागि पुनरावेदन अदालत पाटनको शरणमा पुगे । वैदेशिक रोजगार विभागलाई विपक्षी बनाई झाद्वारा दायर गरिएको परमादेश मुद्दामा २०७१ साल चैत्र ११ गते पुनरावेदन अदालत पाटनका न्यायाधीश पुष्पराज कोइराला र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सुनुवाई गर्दै झाको पक्षमा आदेश जारी ग¥यो ।

अदालतद्वारा वैदेशिक रोजगार विभाग तिनकुनेको नाममा जारी परमादेशमा प्रस्तुत मुद्दामा अनुसन्धान तहकिकात सम्बन्धी कारबाहीमा लामो समयसम्म अनुचित विलम्ब गरेको कार्यबाट पीडितले छिटो छरितो न्याय प्राप्त गर्ने हकमा प्रतिकूल असर पर्न जाने हुँदा निवेदकको माग बमोजिम यथाशीघ्र कारबाही गर्नु/गराउनु भनि उल्लेख छ । तर अदालतले गरेको आदेशको ९ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसक्दा आफू न्याय पाउनुबाट वञ्चित रहेको र न्यायका लागि पटक पटक काठमाण्डु धाउन बाध्य भएको पीडित झाको दुखेसो छ ।

अदालतको आदेश बोकेर वैदेशिक रोजगार विभाग जाँदा कहिले मुद्दा फाँटमा कर्मचारी छैन, कहिले फाँटका कर्मचारी सरुवा भो, त कहिले अनुसन्धान भइरहेको छ भन्दै फर्काइ दिने गरेको झाले पीडा सुनाए । उनले वैदेशिक रोजगार विभागले उक्त मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता गराउनुपर्नेमा सो नगरी आफूलाई अनावश्यक दुःख दिइरहेको पीडा समेत पोखे । ‘कुनै पनि सरकारीवादी फौजदारी मुद्दामा अनुसन्धानको पनि हद म्याद हुन्छ, स्थानीय कानुन व्यवसायीहरु भन्छन्– तर ९/९ वर्षसम्म अनुसन्धान नहुनु अचम्मको कुरा हो ।’ पीडितहरुको पक्षमा वकालत गर्ने एउटा कानुन व्यवसायीले त यहाँ न्याय पाउँन ९/९ वर्ष कुर्नु परेको छ भने आम नागरिकको हाल के होला ? स्थानीय कानुन व्यवसायीहरुको जिज्ञासा रहेको छ ।

Comment


Related News

Latest News

Trending News