अपडेट 
२०८० मंसिर ११, सोमबार ०३:०९

यही मंसिर २६ गतेदेखि पुस २ गतेसम्म जनकपुरधाममा हुने सीताराम विवाह महोत्सवको तयारी सन्दर्भमा जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग जनकपुरधाम आइ धनुष भङ्ग गरी सीतासँग स्वयमवर गर्नु आदि स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाइने चलन रहेको छ । रामायण अनुसार जनकपुरधामको रङ् गभूमिमा आयोजना गरिएको सो स्वयमवरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता रहेको छ । बैठकले यही पृष्ठभूमिलाई सफल र भव्यता प्रदान गर्न मूल समिति, उपसमिति गठन र व्यवस्थापनका विविध आयामबारे छलफल र कार्यान्वयनमा जोड दिएको छ ।

समारोहका लागि १ सय ५१ स्दस्यीय मूल समिति र स्वास्थ्य, यातायात, सुरक्षा, खानेपानी, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सजावट, दीपावली उत्सवको व्यवस्थापनका लागि उपसमितिहरु पनि गठन गरिएको छ । गत वर्षमा प्रदेश सरकारले महोत्सवका लागि रु २० लाख रुपैयाँ विनियोजन गरेको थियो तर यस वर्ष प्रदेश सरकारले महोत्सवका लागि रकम विनियोजन नगरेकोप्रति सहभागीहरुले चिन्ता व्यक्त गर्दे रकम विनियोजनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने सुझाव दिएका छन् ।

गत वर्ष रंगभूमि मैदानमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पण्डाल निर्माणमा देखाएको उदासीनताले समस्या उत्पन्न भएको सहभागीहरुले जिकिर गरेका थिए । महोत्सवमा खानेपानी, आवास र शौचालय व्यवस्थापनतर्फ सजग र गम्भीर हुनु जरुरी रहेको सहभागीहरुले ध्यानाकर्षण गराएका थिए । खानेपानी, आवास र शौचालयको समुचित व्यवस्था नहुँदा श्रद्धालुहरुले कष्ट व्यहोर्नुका साथै बाटोघाटो र नगर नै फोहर र दुर्गन्धित हुने गरेको सहभागीहरुले औंल्याए । महोत्सवका श्रद्धालुहरुसँग जनकपुरधामका होटल व्यवसायीहरुले स्वेच्छाचारी किसिमले रकम लिने गरेका कारण जनकपुरधामप्रति नकारात्मक भावनाको विकास हुँदै गएकोप्रति सहभागीहरुले चिन्तासमेत व्यक्त गरेका थिए ।

सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २६ गते जनकपुरधाम नगर दर्शन, २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव , ३० गते मटकोर, पुस १ गते स्वयमवर तथा विवाह उत्सव र २ गते राम कलेवा रहेको छ । यसका साथै विवाह पञ्चमीका दिन हेलिकप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रमसमेत तय भएको छ । सीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्म सहभागी हुने गरेका छन् ।

विवाह पञ्चमीमा नेपालका विभिन्न स्थल, भारत लगायत अन्य देशहरुबाट साधुसन्त तथा श्रद्धालु भक्तजनहरु भव्यताका साथ लावालस्करसहित जन्ती आउने गर्छन् । मिथिलाको परम्परा अनुसार नै राम र सीताको विवाह हुने गर्छ । बैठकले महोत्सवलाई दृष्टिगत गर्दे जनकपुरधाम परिक्रमा र वरिपरिको क्षेत्रमा साताभर माछा, मासु, मदिरा बिक्रीमा निषेध गर्नुका साथै र सो अवधिमा राजनीतिक दल र संघ संस्थाले महोत्सवलाई प्रतिकूल प्रभाव पार्ने कार्यक्रम नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास, उत्तराधिकारी महन्त रामरोशन दासले सीताराम विवाह महोत्सव नेपालकै अन्तर्राष्ट्रिय स्तरको उत्सव भएकाले यसलाई भव्यतापूर्वक सम्पन्न गर्न सबै पक्षसँग आग्रह गरेका थिए । उनले भारतबाट आउने साधुसन्त, श्रद्धालुभक्तजनलाई अतिथि सत्कारमा कतैबाट पनि कमी कमजोरी नहोसतर्फ सबै पक्षसंग आग्रह गरे । बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका पदाधिकारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर, वार्ड अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News