कार्तिक पूर्णिमाको दिन सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीमा अन्धविश्वासको पराकाष्ठा देखिन्छ ।
कमलामा प्रत्येक वर्ष भगताहरु तन्त्र सिद्ध गर्नका लागि त्यहाँ जुट्ने गरेका छन् । २१ औं शताब्दीमा पनि यस्ता भगता, भूत प्रेत लगायतमा विश्वास गर्नेहरुको संख्या धेरै रहेको भन्दै शिक्षिवर्ग अचम्भ व्यक्त गर्छन् । कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराकाबीच भक्तजनहरू आकर्षित गर्ने गर्छन् ।
शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भगता मेला लाग्ने गरेको छ । पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रूपमा समेत परिभाषित गर्दै आइरहेका छन् । मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन् ।
धामी झाँक्री बन्ने विश्वासका साथ उनीहरू देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको छ। भगता मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहेको छ ।
तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन रहँदै आएको छ । स्नानको समयमा मूल धामीहरूले लोक भाकामा गीत समेत गाउने गर्दछन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ । मिथिलामा पहिलेदेखि नै तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ ।
मुख्यतः ग्रामीण भेगका अशिक्षाका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरूले नै यो परम्परा धान्दै आइरहेको कतिपयको भनाइ छ । घर परिवारका कुनै सदस्यलाई हानी नोक्सानी र भूतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्तिमार्फत देउताले दिने तथा रक्षासमेत गर्ने गरेको जनविश्वास छ ।
सिद्धि प्राप्त गर्न सिरहाको माडरस्थित इनर्वाघाट, बसपिट्टा, सारश्वर, चतरी, कल्याणपुर, भेडिया, बन्दीपुरसँगै जनकपुरधामको गंगासगर, छिमेकी जिल्ला धनुषाको सघारा, टरिया लकडलगायत कमला नदी छेउमा विभिन्न स्थानमा स्नान गर्ने लाखौँ श्रद्धालुहरूको घुइँचो लागेको थियो ।